PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

प्रिभ्यु : रोबर्ट लेवान्डास्कीलाई गोल गर्ने चुनौती



पहिलोपोस्ट

प्रिभ्यु : रोबर्ट लेवान्डास्कीलाई गोल गर्ने चुनौती

युरो २०१६ सुरु हुनुअघि रोबर्ट लेवान्डास्कीलाई सर्वाधिक गोकर्ताको दाबेदारको रुपमा हेरिएको थियो। छनोट चरणमा सर्वाधिक १३ गोल गर्दै उनले पोल्याण्डलाई युरोमा छनोट गराउन महत्वपूर्ण भूमिका समेत खेले। तर समूह चरणमा लेवान्डास्कीबाट जति आशा गरिएको थियो त्यो पूरा हुन सकेन।

पोल्याण्ड दोस्रो चरणमा प्रवेश गरिसक्यो तर लेवान्डास्कीले एक गोल गर्न पनि सकेका छैनन्।

आजबाट युरो २०१६ को प्रिक्वाटरफाइनलमा खेलहरु सुरु हुँदैछन्। पहिलो खेलमा यिनै लेवान्डास्कीको पोल्याण्ड र स्विट्जरल्याण्ड भिड्दैछन्। यस खेलमा सबैभन्दा बढी दबाब कसैमाथि छ भने त्यो लेवान्डास्कीमाथि नै हुनेछ। गत वर्ष क्लब फुटबलमा वायर्न म्युनिख र छनोटमा गरेको प्रदर्शन दोहोर्‍याउने चुनौती उनीसामु खडा छ।

रोचक त के छ भने स्विट्जरल्याण्ड र पोल्याण्ड दुवै टोली पहिलो पटक युरोकपको समूह चरण पार गर्दै नकआउट चरणमा पुगेका हुन्। अझ पोल्याण्डले त यसै संस्करण आएर मात्र युरोमा पहिलो जित आत्मसात गर्‍यो।

समूह चरणमा दुवै टोलीको प्रदर्शन मध्यम नै रह्यो। स्विट्जरल्याण्ड आयोजक फ्रान्स सम्मिलित समूहबाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो भने पोल्याण्ड समूह सी को उपविजेता बनेको हो।

यस पटक समूह चरणमा गोल नखाने दुई टोलीमध्ये पोल्याण्ड पनि एक हो। जर्मनी र पोल्याण्ड दुवै समूह सी मा थिए र दुवै अपराजित रहे। दुवैले दुईमा जित र एक खेल बराबरी खेले। कुनै गोल खाएनन्।

उत्तरी आयरल्याण्ड र युक्रेनलाई समान १–० को अन्तरमा पराजित गरेको पोल्याण्डले जर्मनीसँग गोलरहित बराबरी खेलेको थियो।
यता समूह ए बाट अपराजित बन्दै पहिलो पटक अन्तिम १६ मा पुग्ने क्रममा स्विटजरल्याण्डले अल्वानियालाई पराजित गरेको थियो भने रोमानिया र फ्रान्ससँग बराबरी खेलेको थियो।

इतिहास हेर्ने हो भने स्विट्जरल्याण्डमाथि पोल्याण्ड हाबी भएको पाइन्छ। अहिलेसम्म भएका १० खेलमध्ये पोल्याण्डले ४ खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ। स्विटजरल्याण्डले जम्मा एक खेल मात्र आफ्नो पक्षमा पारेको छ। सन् १९७६ मा जितेयता स्विट्जरल्याण्डले पोल्याण्डलाई हराउन सकेको छैन।

पछिल्लो पटक सन् २०११ मा यी दुईबीच मैत्रीपूर्ण खेल भएको थियो, जसमा पोल्याण्ड ४–० ले विजयी भएको थियो। यस्तै कम्पिटेटिभ खेल अन्तर्गत सन् १९८० मा भएको युरो छनोटमा पोल्याण्डले स्विट्जरल्याण्डलाई २–० ले हराएको थियो।

आजको खेलमा पोल्याण्डका लेवान्डास्कीलाई गोल गर्ने दबाब छ, साथै खेल जिताउने पनि। तर पोल्याण्डका बार्टोस कपुस्का समूह चरणमा दुई पहेँलो कार्ड खाएका कारण स्विट्जरल्याण्डविरुद्ध खेल्न पाउनेछैनन्।

यता स्विट्जरल्याण्डले भने समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध खेलाएको टोलीलाई निरन्तरता दिने सम्भावना छ। उसका ग्राण्ट जाका, जेद्रान शाकिरी, ब्रिल एम्बोलोमाथि सबैको नजर रहनेछ।
 

खेल हुने स्थान : स्टेड जियोफ्रोए गुएचार्ड
खेल हुने समय : बेलुका ६:४५
हेर्नलायक खेलाडी : रोबर्ट लेवान्डास्की पोल्याण्ड, ग्राण्ट जाका स्विट्जरल्याण्ड
हेड टु हेड : पोल्याण्ड ४, स्विट्जरल्याण्ड १, बराबरी ५
रेफ्री : मार्क क्लाटेनवर्ग, इंग्ल्याण्ड
फिफा वरियता : स्विट्जरल्याण्ड १५, पोल्याण्ड २७
युरो सहभागिता : स्विट्जरल्याण्ड ४, पोल्याण्ड ३



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell