PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

प्रिभ्यु : इतिहास रच्ने दाउमा वेल्स र उत्तरी आयरल्याण्ड



पहिलोपोस्ट

प्रिभ्यु  : इतिहास रच्ने दाउमा वेल्स र उत्तरी आयरल्याण्ड

जब हरेक खेल प्रतिस्पर्धात्मक हुन्छ, साना टोलीले पनि ठूला टोलीलाई टक्कर दिन्छ। परिणाम- अप्रत्यासित नतिजा।

फुटबलको विशेषता भनेको नै यही हो।

फ्रान्समा जारी युरो २०१६ मा यस्तै रोमाञ्चकता दिलाउने काम गरे डेब्युटान्ट टोलीहरुले। पाँच टोलीले युरोमा डेब्यु गरेका थिए यसपटक। जसमध्ये चार टोली नकआउट चरणमा पुगे। यसमा पनि दुई टोली प्रिक्वाटरफाइनलमा एकापसमा भिड्दैछन्- वेल्स र उत्तरी आयरल्याण्ड। पहिलो सहभागितामै क्वाटरफाइनल पुग्ने तयारीमा छन् दुवै टोली। जसको जित हुन्छ, त्यसले रच्नेछ- इतिहास।

युरो २०१६ अन्तर्गत आजबाट प्रिक्वाटरफाइनल खेल सुरु हुनेछ र दोस्रो प्रिक्वाटरफाइनलमा वेल्स र उत्तरी आयरल्याण्ड भिड्दैछन्। जारी प्रतियोगितामा यो दोस्रो 'अल युके' खेल हो। यसअघि समूह चरणमा इंगल्याण्ड र वेल्स भिडेका थिए।

वेल्स इंगल्याण्ड रहेकै समूह बी बाट विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।  पहिलो खेलमा स्लोभाकियालाई २–१ ले पराजित गर्दै शानदार सुरुवात गरेको वेल्स दोस्रो खेलमा अन्तिम समयामा इंगल्याण्डसँग सोही नतिजामा हारेको थियो। तर तेस्रो खेलमा रसियालाई ३–० ले पराजित गर्दै वेल्स समूह विजेता बनेको हो। वेल्सलाई प्रेरणादायी प्रदर्शन दिलाएका गारेथ बेलले समूह चरणमा तीन गोल गरिसकेका छन् र स्पेन अल्भारो मोराटासँग संयुक्त रुपमा शीर्ष स्थानमा छन्।

यता उत्तरी आयरल्याण्ड भने तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चारभित्र पर्दै अन्तिम १६ मा छनोट भएको हो। जर्मनी र पोल्याण्डसँग पराजित भएको उत्तरी आयरल्याण्डले युक्रेनलाई हराएको थियो।

सन् १९८६ मा विश्वकप खेलेको उत्तरी आयरल्याण्ड ३० वर्षपछि ठूलो प्रतियोगिता खेल्दैछ। यता वेल्सको भने यो दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। सन् १९५८ मा पहिलो पटक विश्वकप खेलेका वेल्स क्वाटरफाइनसम्म पुगेको थियो।

वेल्स र उत्तरी आयरल्याण्डबीचको खेल रोमाञ्चक हुने फुटबल पण्डितहरुको दाबी छ। दुवै टोलीका हजारौं सार्थक आफ्नो टोलीलाई समर्थन गर्न फ्रान्स पुगिसकेका छन्।

यस्तै दुवै टोलीका प्रशिक्षक पनि उत्साही छन्। दुवै टोली पुर्ण रुपमा फिट छन्। वेल्सका प्रशिक्षक क्रिस कोलम्यानलाई बेलसँगै अगाडि कसलाई खेलाउने भन्नेमा द्विविधा छ। साम भोक्स, जोनी विलियम्स वा हल रोब्सन कानुमध्ये एकले बेलसँगै फरवार्डमा खेल्नेछन्।

उत्तरी आयरल्याण्डका प्रशिक्षक माइकल ओ लिनलले भने जर्मनी र पोल्याण्डविरुद्ध खेलेकै टोलीलाई निरन्तरता दिने सम्भावना छ।

पछिल्ल आठ खेलमा उत्तरी आयरल्याण्डले वेल्सलाई हराउन सकेको छैन भने इतिहास पनि वेल्सकै पक्षमा छ। अहिलेसम्म भएका ९५ खेलमध्ये वेल्स ४४ मा विजयी भएको छ भने उत्तरी आयरल्याण्डले २५ खेल जितेको छ। यस्तै २६ खेल बराबरीमै सकिएको छ।
 

खेल हुने स्थान : पार्क डे प्रिन्स, पेरिस
खेल हुने समय : राति ९:४५ बजे 
हेर्नलायक खेलाडी : गारेथ बेल वेल्स, कायल लाफार्टे उत्तरी आयरल्याण्ड
हेड टु हेड : वेल्स ४४, उत्तरी आयरल्याण्ड २५, बराबरी २६
रेफ्री : मार्टिन एटेकिनसन, इंगल्याण्ड
फिफा वरियता : वेल्स २५, उत्तरी आयरल्याण्ड २६
युरो सहभागिता : वेल्स १, उत्तरी आयरल्याण्ड १



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell