
दोलखा : गायक प्रमोद खरेलले गत वर्षको भूकम्पका कारण ध्वस्त भएको एक विद्यालयको पुनःनिर्माण गरिदिएका छन्। उनले बेल्जियममा रहेको पासाःपुचको सहयोगमा दोलखा सुन्दरावतीस्थित सरस्वती प्राथमिक विद्यालय बनाइदिएका हुन्।
शुक्रबार दिउँसो शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयको उद्घाटन गरे। गायक खरेलले विद्यालयको चाबी दिएपछि स्कुल हस्तान्तरण भयो। कलाकारले शिक्षा क्षेत्रमा देखाएको तदारुकताको शिक्षामन्त्री पोखेरेलले प्रशंसा गरे।
‘भूकम्पपछि धेरै विद्यालय क्षतिग्रस्त छन्,’ उनले भने, ‘यसका लागि हामी पनि लागिरहेका छौं र प्रमोदजीहरु पनि आफ्नो स्थानबाट लागिरहनुहोस् भन्ने चाहन्छौं।’
कक्षा तीनसम्म पढाइने उक्त विद्यालयमा चारकोठे पक्की भवनको पुनःनिर्माण भएको हो।
‘महाभूकम्प लगत्तै स्थानीय सुदीपकुमार रेग्मीजीको माध्यमबाट यो स्कुल अवलोकनका लागि म यहाँ आइपुगेको थिएँ। त्यति बेला स्कुल पुर्ण रुपमा क्षतिग्रस्त थियो,' गायक खरेलले भने ‘विद्यार्थीको अनुहारमा निराशा थियो, कसैको खुट्टामा चप्पल थिएन, कसैको के। आज सबैको मुहार चम्किएको पाउँदा म खुसी छु। आज मेरो एउटा सपना पूरा भएको छ।’
६८ जना विद्यार्थी अध्ययनरत विद्यालयमा ९० प्रतिशतभन्दा बढी विद्यार्थी थामी समुदायका रहेको प्रिन्सिपल प्रल्हादप्रसाद पकुवालले जानकारी गराए। भूकम्पपछि यहाँ पालमा राखेर विद्यार्थी पढाउने गरिएको थियो।
स्कुल हस्तान्तरण कार्यक्रममा हास्यकलाकार किरण केसी, शिवहरि पौडेल, जितु नेपाल, संगीतकार चेतन सापकोटा, प्रस्तोता नरेश भट्टराई लगायत सहभागी थिए।
स्कुल पुनःनिर्माणकै लागि झापामा मेची अभियानले कन्सर्ट आयोजना गरेको थियो। कार्यक्रममा जितु नेपालले निःशुल्क प्रस्तुति दिएका थिए। ‘अहिलेसम्म मैले मेरो पारिश्रामिकको बारेमा केही सोधेको थिइन,’ कार्यक्रममा जितुले भने, ‘आज मैले स्कुलको भित्तामा पारिश्रामिक स्वरुप मेरो नाम देखेँ, जिन्दगीभर नमेटिने पारिश्रामिक पाउँदा खुसी छु।’
भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा जसोतसो जीवन बिताइरहेका श्यामसुन्दर शाहीको मुहारमा पनि बेग्लै मुस्कान देखिन्थ्यो। उनकी छोरी विद्यालयमा पढ्दैछिन्। ‘अब मेरी छोरी पक्की घरमा बस्न नपाए पनि पक्की स्कुलमा पढ्छे,’ उनी मुस्कुराए, ‘यस्तो देख्न पाउँदा कुनचाहिँ बाउ खुसी नहोला?’