PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

युरो २०१६ : प्रिक्वाटरफाइनलका तीन खेल आज



पहिलोपोस्ट

युरो २०१६ : प्रिक्वाटरफाइनलका तीन खेल आज

फ्रान्समा चलिरहेको युरो २०१६ अन्तर्गत हिजोबाट प्रिक्वाटरफाइनलका खेलहरु सुरु भएको छ। पहिलो दिन तीन खेल सम्पन्न भए। आज पनि प्रिक्वाटरफाइनलका तीन वटै खेल हुँदैछन् भने बाँकी दुई खेल भोलि हुनेछ।

आज आयोजक फ्रान्स र आयरल्याण्ड, जर्मनी र स्लोभाकिया तथा हंगेरी र बेल्जियम भिड्दैछन्। हिजो भएको खेलमा पोल्याण्ड, वेल्स र स्विट्जरल्याण्ड विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन्।
 

फ्रान्स भर्सेस आयरल्याण्ड

फ्रान्स र आयरल्याण्डबीचको खेल बेलुका ६:४५ बजे सुरु हुनेछ। आयोजक फ्रान्स समूह ए को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। फ्रान्सले समूह चरणमा रोमानिया र अलवानियालाई पराजित गरेको थियो भने स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो। आयरल्याण्ड तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट हुँदै अन्तिम १६ मा पुगेको हो। समूह ई को पहिलो खेलमा स्वीडेनसँग बराबरीमा रोकिएको आयरल्याण्ड दोस्रो खेलमा बेल्जियमसँग पराजित भएको थियो। तर समूहको अन्तिम खेलमा इटलीलाई पराजित गर्दै आयरल्याण्ड तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चारमा पर्न सफल भएको छ।
 

जर्मनी भर्सेस स्लोभाकिया

जर्मनी स्पेनसँगै सर्वाधिक तीन पटकको विजेता हो भने स्लोभाकिया डेब्युटान्ट टीम। समूह चरणमा अपराजित रहेको जर्मनीले अहिलेसम्म गोल बेहोरेको छैन। युक्रेन र उत्तरी आयरल्याण्डलाई पराजित गरेको जर्मनीले पोल्याण्डसँग बराबरी खेलेको थियो।

यता इंगल्याण्ड, रसिया, वेल्स जस्ता टीम रहेको समूहमा रहेको स्लोभाकिया समूह चरणमा तेस्रो स्थानमा रहेको थियो। चार अंक जोडेको स्लोभाकिया ६ समूहका तेस्रो हुने टीममध्ये उत्कृष्ट बन्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो। पहिलो सहभागितामै नकआउट चरण प्रवेश गरेको स्लोभाकिया जर्मनीविरुद्ध अप्रत्यासित नजिता निकाल्ने दाउमा छ।

जर्मनी र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे हुनेछ।
 

हंगेरी भर्सेस बेल्जियम

हंगेरी समूह एफ को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो भने बेल्जियम समूह ई को उपविजेता बनेको थियो।

समूह चरणमा अपराजित रहने क्रममा हंगेरीले अष्ट्रियालाई हराएको थियो भने आइसल्याण्ड र पोर्चुगलसँग बराबरी खेलेको थियो।
यता इटलीसँग पराजित हुँदै युरो सुरु गरेको बेल्जियम त्यसपछि आयरल्याण्ड र स्वीडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
हंगेरी र बेल्जियम बीचको खेल मध्यरात १२:४५ बजे हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell