
काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्। कार्कीले भष्टाचार गर्नेलाई कारबाही गर्नुको साटो तिनैको संरक्षण गरिरहेको दावी गरे।
भष्टाचारीलाई संरक्षण दिँदै सीमा बाहिर गएर केयुको परीक्षामा हस्तक्षेप गरेको बताउँदै डाक्टर केसीले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग समेत गरे।
'आफ्ना आसेपासे, भाइभतिजाको स्वार्थका लागि मेडिकल शिक्षामा हस्तक्षेप गरेका छन् उनले,' केसीले आरोप लगाए।
आइतबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै केसीले विगतको सरकारसँगको सम्झौता कार्यान्वयन नभए असार २६ गतेबाट आमरण अनशनमा बस्ने जानकारी समेत गराएका थिए। संसदको यही अधिवेशनबाट चिकित्सा शिक्षा ऐनको मस्यौदामा सुधार गरी पारित गर्नुपर्ने, प्राध्यापक केदारभक्त माथेमा प्रतिवेदनको सुझाव विपरित काठमाडौंमा खोल्ने भनेर प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विचाराधीन विधेयक तत्काल फिर्ता गरिनुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल पुर्याउनुपर्ने लगायतका माग राखेका छन्।