
युरो २०१६ अन्तर्गत पाँचौ प्रिक्वाटरफाइनलमा आज विश्वविजेता जर्मनी र स्लोभाकियाबीच खेल हुँदैछ। राति ९:४५ बजे हुने खेलमा दुवै टोली जित हात पार्ने लक्ष्यसहित मैदान उत्रँदैछन्।
स्पेनसँगै जर्मनी पनि सर्वाधिक तीन पटकको युरो च्याम्पियन हो भने स्लोभाकिया डेब्युटान्ट टोली। तर समूह चरणको प्रदर्शन हेर्ने हो भने जर्मनीले विश्वविजेताको छनक देखाउन सकेका छैन। स्लोभाकियाले भने युरोको पहिलो सहभागितामै नकआउट चरण प्रवेश गरेर इतिहास रचेको छ।
समूह चरणमा कुनै गोल नखाई अपराजित रहे पनि जर्मनीले सोचेअनुरुप प्रदर्शन गर्न सकेन। युक्रेन र उत्तरी आयरल्याण्डलाई पराजित गर्ने क्रममा जम्मा तीन गोल गरेको जर्मनीले पोल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो।#EURO2016 अन्तर्गत अहिले ९:४५ मा #Ger vs #Svk खेल हुँदैछ। प्रिभ्यु https://t.co/hR8u7wdWHa तपाईँ कसको पक्षमा?
— PahiloPost (@PahiloPost) June 26, 2016
यता युरो डेब्यु खेलमा वेल्ससँग पराजित भए पनि रसियालाई हराएको स्लोभाकियाले समूहको अन्तिम खेलमा इंगल्याण्ड जस्तो स्टार खेलाडीको टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो। समूहमा वेल्स र इंगल्याण्डपछि तेस्रो स्थानमा रहे पनि स्लोभाकिया तेस्रो स्थानमा रहने उत्कृष्ट चार टोलीभित्र रहँदै अन्तिम १६ मा छनोट भएको हो।
युरो सुरु हुनुअघि भएको वार्मअफ खेलमा स्लोभाकियाले जर्मनीलाई ३–१ ले हराएको थियो। त्यसैले गर्दा पनि स्लोभाकिया उच्च मनोबलका साथ जर्मनीविरुद्ध मैदान उत्रने तयारीमा छ।
त्यस खेलमा गोल गरेका मारेक ह्यामसिक स्लोभाकियाका मुख्य खेलाडी हुन्। धेरै हदसम्म स्लोभाकियाको खेल ह्यामसिकमा निर्भर रहन्छ।
ह्यामसिकलाई रोक्नु जर्मनीको लागि मुख्य चुनौतीको विषय बन्नेछ। दुई दिनअघि जर्मनीका गोलरक्षक मानुएल नोएले ह्यामसिक टाढाबाट सट प्रहार गर्न माहिर रहेको र यसबारे सजग हुनुपर्ने बताएका थिए।
सधैं सन्तुलित टोली भएर पनि जर्मनीको खेल सन्तुलित हुन सकेको छैन। जर्मनीका मुख्य खेलाडी थोमस मुलरले अहिलेसम्म युरोमा गोल गर्न सकेका छैनन् भने यो पटक प्रदर्शन पनि राम्रो हुन सकेको छैन। यद्यपि जर्मन टोलीमा स्टार खेलाडीहरुको कमी छैन। गोलरक्षक मनुएल नोए, मिडफिल्डर टोनी क्रुस, मेसुट ओजिल, मारियो गोट्चा, मारियो गोमेज जस्ता खेलाडीहरु जर्मनीमा छन्। चोटका कारण उत्तरी आयरल्याण्ड विरुद्धको खेलमा सब्सिच्युट भएका डिफेन्डर जेरोम बोएटेङ पनि स्लोभाकियाविरुद्ध खेल्ने सम्भावना रहेको छ।
यता स्लोभाकियाका डिफेन्डर डुसान स्भेन्टो र मडिफिल्डर रोबर्ट म्याक अझै पूर्ण रुपमा फिट भइसकेका छैनन् । जर्मनी युरोअघिको हारको बदला लिने योजनामा छ भने स्लोभाकिया जर्मनीविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै अगाडि बढ्ने दाउमा।
अहिलेसम्मको इतिहासमा भने जर्मनी स्लोभाकिया माथि हाबी। चेकोस्लोभाकियाबाट छुट्टिएर स्वतन्त्र बनेपछि जर्मनी र स्लोभाकियाबीच अहिलेसम्म १० खेल भएको छ। जसमा जर्मनी ७ पटक विजयी भएको छ भने स्लोभाकियाले ३ खेल जितेको छ।
खेल हुने समय : राति ९:४५
खेल हुने स्थान : स्टेड पिएर माउरोए, लिले
हेर्नलायक खेलाडी : टोनी क्रुस-जर्मनी, मारेक ह्यामसिक-स्लोभाकिया
हेड टु हेड : जर्मनी ७, स्लोभाकिया ३
रेफ्री : साइमन मार्सिनिएक, पोल्याण्ड
युरो सहभागिता : जर्मनी १२, स्लोभाकिया १
फिफा वरियता जर्मनी : ४, स्लोभाकिया २४
खेल हुने स्थान : स्टेड पिएर माउरोए, लिले
हेर्नलायक खेलाडी : टोनी क्रुस-जर्मनी, मारेक ह्यामसिक-स्लोभाकिया
हेड टु हेड : जर्मनी ७, स्लोभाकिया ३
रेफ्री : साइमन मार्सिनिएक, पोल्याण्ड
युरो सहभागिता : जर्मनी १२, स्लोभाकिया १
फिफा वरियता जर्मनी : ४, स्लोभाकिया २४