PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

तीन दिन तीन बैठक तर चलेन संसद



मनोज सत्याल

तीन दिन तीन बैठक तर चलेन संसद

काठमाडौँ : नेपाली कांग्रेसले तेस्रो दिन पनि संसद बैठकमा अवरोध गरेको छ। भूकम्प पीडितलाई एकमुष्ट दुई लाख नगद दिनुपर्ने माग गर्दै आएको कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत संसदमा सम्बोधन गर्न रोकेको छ।

कांग्रेसले प्रधानमन्त्रीले संसदमा बोल्नुअघि प्रमुख प्रतिपक्षको सहमति लिएर दुई लाख दिने विषयमा नीतिगत निर्णयको माग गरेको छ।आइतबार समामुख ओनसरी घर्तीले बैठक दुई पटक स्थगित गर्दै तेस्रो पटक सञ्चालन गर्दा समेत कांग्रेसले विरोध कायम राखेको हो।

आइतबारको पहिलो बैठकमा अर्जुनरसिंह केसीले भूकम्पपीडितलाई दुई लाख एकमुष्ट दिन तथा पहिला नै घर बनाएकाहरुलाई समेट्न सरकार तयार नभएको आरोप लगाए।

उनले चार किस्तामा रकम दिने विषयमा कांग्रेसले १४ महिनाअघि गरेको निर्णयलाई अहिले सरकारले दृष्टान्त मान्न नमिल्ने जिकिर गरे।
केसी बोलेलगत्तै कांग्रेस सांसदहरुले उभिएर बैठकमा अवरोध गरेका थिए। सभामुख घर्तीले अफगानिस्तानको काबुल घटना र पुनर्निर्माणबारे प्रधानमन्त्रीले बोल्न खोजेको बताएकी थिइन्।

तर कांग्रेस सांसदहरुले अफगानिस्तान घटनाबारे प्रधानमन्त्रीले बोल्न खोजेर भूकम्पपीडितलाई दुई लाख दिने निर्णयबाट उम्कन खोजेको रुपमा अर्थ्याए।

'अफगानिस्ताको घटनाप्रति सबै नेपाली दुखित छन्। तर लाखौँ नेपाली पीडित भइरहेको बेला यो घटना जोडेर संसद चल्न सक्दैन,' केसीले बैठकमा भने। लगत्तै सभामुख घर्तीले बैठक एक घन्टाका लागि स्थगित गरिन्।

तर बैठक स्थगित भए पनि दलहरुबीच छलफल हुन सकेन। त्यसपछि बसेको दोस्रो बैठकमा कांग्रेसका सांसद आनन्द ढुङ्गानाले छलफलको कुनै प्रयास नै नगरेको आरोप लगाए।

'प्रतिपक्षले कुरा राख्दै गर्दा सरकार सुन्न तयार छैन,' उनले भने, 'हामी प्रधानमन्त्रीलाई बोल्न नदिन आएका होइनौं। तर समाधानसहित प्रधानमन्त्री आउनुस्। बोल्दै गर्दा समाधान आओस्।'

कांग्रेस सांसदहरुले पटक-पटक प्रधानमन्त्रीले बोल्न समय मागेको सभामुखले जानकारी गराउँदा समेत उभिएर विरोध जनाएका थिए। सभामुखले संसदको रुलिङ अनुसार नै प्रधानमन्त्रीले पुनर्निर्माणबारे बोल्न खोजेको बताएकी थिइन्। सभामुखले दोस्रो बैठक आधा घण्टाका लागि स्थगित गरिन्।

तेस्रो बैठक सुरु भएलगत्तै कांग्रेसका अर्जुनप्रसाद जोशीले धारणा राखे। उनले सरकारले सामान्य छलफल समेत गर्न नचाहेको भन्दै आपत्ति प्रकट गरे। 'सरकारले छलफल त परै जाओस् समन्वय समेत गरेको छैन,' जोशीले भने, 'कांग्रेसले उठाएकै कारण सरकार दुई लाख एकमुष्ट दिने निर्णय गर्न चाहिरहेको छैन।'

'तीन किस्ताको स्थानमा एक गर्दा के जान्छ?' उनले प्रश्न गरे।

कांग्रेस सांसदहरुले तेस्रो बैठकमा पनि अवरोध कायम राखेपछि सभामुखले बैठक सोमबार १ बजेसम्मका लागि स्थगित गरिन्।
 
कांग्रेसले बिहीबारदेखि संसद बैठक अवरोध गर्दै आएको छ। शुक्रबारको बैठक भने बस्दै नबसी सूचना टाँस गरेर स्थगित भएको थियो। 
फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell