
स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। अमेरिकामा सम्पन्न कोपा अमेरिका सेन्टेनारियो फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले यस्तो घोषणा गरेका हुन्।
चिली विरुद्धको फाइनलमा हार बेहोरेपछि आँखामा आँशु थाम्न नसकेका मेसीले अर्जेन्टाइन टेलिभिजनबाट आफ्नो निर्णय सार्वजनिक गरेका छन्। मेसीले राष्ट्रिय टिमका लागि आफ्नो यात्रा यहीसम्म भएको र अब सकिएको बताएका छन्। च्याम्पियन बन्न नसक्दा दुखी भएको मेसीले बताए।
मेसीको नेतृत्वमा अर्जेन्टिना तीन मुख्य फाइनलमा पराजित भएको छ। सन् २०१४ को विश्वकपमा जर्मनीसँग हारेको अर्जेन्टिना लगातार दुई पटक कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको हो।
मेसीले अर्जेन्टिनी टिमसँग कोपाको फाइनलमा हार बेहोरेको पनि यो तेस्रो पटक हो। सन् २००७ को कोपा फाइनलमा ब्राजिलसँग पराजित हुँदा पनि मेसी अर्जेन्टिनी टिमका सदस्य थिए।
अमेरिकामा भएको कोपा अमेरिका सेन्टेनारियोमा मेसीले ५ गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको रेकर्ड कायम गरे। उनले गाब्रियल बाटिस्टिुटाको नाममा रहेको ५४ गोलको रेकर्ड तोडेका हुन्। तर अर्जेन्टिनालाई उपाधि दिलाउन नसक्दा उक्त रेकर्डले मेसीलाई कुनै खुसी दिन सकेन।
सन् २००५ मा हंगेरी विरुद्धको खेलबाट अर्जेन्टिनाका लागि डेब्यु गरेका मेसीले २००६ मा क्रोएसिया विरुद्धको खेलमा अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए। त्यसपछि अर्जेन्टिनाका लागि ११३ खेल खेलेका मेसीले कुनै पनि ठुला अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न सकेनन्।