काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको 'संविधान कार्यान्वयन कार्ययोजना' लागू हुनेमा शंका व्यक्त गरेका छन्।
जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने - 'जुन ढंगले सरकारले कार्ययोजना ल्याएको छ कार्यान्वयन हुन्छ भन्ने हामीलाई लागेको छैन।'
उनले आफूले प्रमुख प्रतिपक्षीसँगको समझदारी र विश्वास नलिइ र मधेस मुद्दामा सहमति नलिइ चुनावको वातावरण नबन्ने जानकारी सरकारलाई गराएको उल्लेख गरे। उनले प्रमुख राजनीतिक शक्तिहरुको समझदारीविना निर्वाचन समेत हुन नसक्ने उल्लेख गरे।
एक साताअघि मन्त्रिपरिषद्ले पारित गरेको संविधान कार्यान्वयन कार्ययोजना सरकारले संसदमा जानकारी गराएको थियो।
उनले स्थानीय निकाय पुर्नसंरचना आयोगले माघसम्ममा प्रतिवेदन दिने अवस्था रहेको उल्लेख गर्दै नयाँ संविधानको व्यवस्था अनुसारको निर्वाचन हुने बताए।
उनले मधेस आन्दोलनलाई सरकारले हल्काफुल्का रुपमा 'केही पनि होइन' भनेर लिन नहुने बताए। 'हल्का फुल्का रुपमा लिने देश र जनताको हित हुन्न,' उनको भनाइ थियो।
उनले भूकम्प गएपछि आफूले राष्ट्रिय सहमतिको पक्षमा जोड दिएको उल्लेख गर्दै पुनर्निर्माण र जनताको विकासको चाहाना लागि पनि राष्ट्रिय समझदारी आवश्यक रहेको तर्क गरे।
'सहमति जसमा भए पनि आपत्ती छैन। ओलीजीकै नेतृत्वमा भए पनि देउवाको नेतृत्वमा भए पनि, सहमति हाम्रै नेतृत्वमा हुने हो भने पनि तयार छौँ,' प्रचण्डले भने, 'आउने २० महिना राष्ट्रिय सहमतिको आवश्यकता छ।'
उनले एमाले स्थायी समिति बैठकले समेत राष्ट्रिय सहमतिका लागि खुल्लै छौँ भनेको दृष्टान्त पेश गरे।
प्रचण्डले आफ्नो पार्टीको महाधिवेशन मंसिर अन्त्य वा पुसमा हुन सक्ने समेत उल्लेख गरे।