
लस एन्जलस : कार्यक्रम चल्दाचल्दै अचानक अडियो सिस्टम बन्द भयो। कन्सर्टहरु बिस्तारै प्रविधिमा पूर्णतः आश्रित हुँदैगएको समयमा लस एन्जलसका श्रोता र स्टेजका कलाकारबीच सम्पर्क असहज बन्न पुग्यो। तर पनि शनिबार यहाँस्थित बर्नम हलमा प्रतिकूल परिस्थिति सामना गरेरै नेपथ्यको कन्सर्ट जारी रह्यो।
सम्पूर्ण बाजागाजा बन्द भए पनि स्वर रोकिएन। सामुहिक आवाजको एकताबद्ध लयले रक कन्सर्टका निम्ति सबैभन्दा प्रभावकारी तन्तु ‘हार्मोनी’लाई यस्तरी कायम राखिदियो, अचानक माइक बिग्रनु र फेरि बन्नुको बीचमा कुनै रिक्तता नै महसुस भएन। कलाकार र दर्शकबीचको आत्मियताले डोहोर्याएको त्यो क्षण नेपथ्यको निम्ति दर्शकदीर्घासँगको सामन्जस्यताका निम्ति चीर स्मरणीय घटना बन्न पुगेको छ।
हेर्नुस् त्यतिखेरको अवस्था:
‘अडियो सिस्टम’मा बिजुलीको प्रवाह बन्द भएको त्यो समय नेपथ्यले ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ गाइरहेको थियो। त्यसमा श्रोताले पनि साथ दिइरहेका थिए। सम्पूर्ण सिस्टम बन्द भए पनि मुख्य गायक अमृत गुरुङको माइकबाट निस्केको आवाजकै भरमा गायक र दर्शक मिलेर कार्यक्रमलाई तीन मिनेटसम्म निरन्तरता दिइरहे।
कार्यक्रम सकिनेबित्तिकै आफ्नो फेसबुकमार्फत् गायक अमृतले लस एन्जलसका श्रोता दर्शकप्रति आभार प्रकट गरेका छन्।
‘हाम्रा शुभचिन्तक श्रोताहरु प्रति हामी ऋणी छौं। प्राविधिक गडबडीका बाबजुद आज लस एन्जलसमा तपाईँहरुले देखाउनुभएको सद्भावप्रति हामी कृतज्ञ छौं। मुरी मुरी धन्यवाद। तपाईँको माया नै त हो...हामीले कमाएको...,’ उनले फेसबुक वालमा पोष्ट गरेका छन्।
पञ्चायती व्यवस्थाको प्रारम्भतिरै साँगीतिक अभियान ‘राल्फा’को संघर्षका बेला ‘गाउँ गाउँबाट उठ’ गीत जन्मिएको हो। श्याम तमोटले लेखेको यस गीतलाई नेपथ्यले नेपालमा सशस्त्र द्वन्द्वका बेला शान्ति संगीत यात्रादेखि गाउँदै आएको छ। थुप्रै भाषामा अनुवादित र जनजनमा लोकप्रिय यो गीतको रक शैलीको प्रस्तुती त्यतिबेलादेखि नै नेपथ्य कन्सर्टको अभिन्न अंग बन्दै आएको छ। जागरणको सन्देशले नै जुरुक जुरुक उचाल्ने यो गीत गाइरहेका बेला जहिले पनि श्रोता दर्शकहरु अमृतसँगै उफ्रिरहेको देख्न सकिन्छ।
स्थानीय समय अनुसार ठीक आठ बजेर ४० मिनेटमा सुरुभएको शनिबारको नेपथ्य कन्सर्ट लाङटाङ क्षेत्रबाट संकलन गरिएको ‘भेँडाको उनजस्तो’ गीतबाट सुरुभएको थियो। त्यससँगै एकपछि अर्को नेपथ्यका सर्वकालीक हिट गीतहरुले दुइ घन्टासम्म मञ्च र दर्शकदीर्घालाई एकाकार बनाएको थियो।
लस एन्जलसको कन्सर्ट ‘फ्रेण्ड्स अफ नेपाल’को आयोजनामा भएको हो।
नेपथ्यले यसपटकको अल्पकालीन अमेरिका यात्राको यो पहिलो प्रस्तुतीसँगै अब आगामी कार्यक्रमको निम्ति अमेरिकाको पश्चिमी तटबाट एकैपटक पूर्वी तटतर्फको यात्रा गर्नेभएको छ। आगामी जुलाइ २ तारिख एटलान्टाको सेन्टर स्टेजमा कन्सर्टको निम्ति ब्यान्ड अब जर्जियातर्फ लाग्ने छ।
त्यसै सहरमा आयोजना हुनलागेको एएनए (एशोसिएसन अफ नेप्लीज इन द अमेरिकाज्) सम्मेलनकै क्रममा नेपथ्यले त्यहाँ नेपाली लोक रक सुनाउने छ।