
इटलीले चार वर्ष अघि फाइनलमा भोगेको पराजयको बदला लिँदा स्पेनको लगातार तेस्रो पटक युरो जित्दै उपाधि माथि ह्याट्रिक गर्ने सपना समाप्त भएको छ।
फ्रान्समा जारी युरो अन्तर्गत सोमबार बेलुका भएको प्रिक्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई २–० ले पराजित गर्दै इटली क्वाटरफाइनलमा प्रवेश गरेको हो।
जितसँगै इटलीले चार वर्ष अघि स्पेनसँग फाइनलमा भोगेको ४–० को बदला समेत लिएको छ भने क्वाटरफाइनलमा जर्मनीसँगको भिडन्त पक्का गरेको छ।
इटलीले खेलको दुवै हाफमा एक एक गोल गर्यो। ३४ औं मिनेटमा डिफेन्डर जर्जियो चिलेइनीले गोल गर्दै इटलीलाई पहिले अग्रता दिलाए। एडरले प्रहार गरेको फ्रिकिक स्पेनका गोलरक्षक डेविड डे हेएले पुरै क्लियर गर्न नसक्दा प्राप्त अवसरमा चिलेइनीले गोल गरेका हुन्।
एक शुन्यले पछि परेको स्थितीमा स्पेन बराबरी गोल फर्काउनमै संघर्षतरत बन्यो। इटलीले अन्तिमसम्म उक्त अग्रतालाई कायमै राख्यो र खेलको अन्त्यतिर अर्को गोल थप्यो। स्ट्राइकर ग्राजियानो पेल्लेले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि इटली स्पेनलाई २–० ले हराउन सफल भयो।
सन् २००८ यताको तीन खेलमा स्पेनलाई पराजित गर्न नसकेको इटली महत्वपुर्ण जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ। जहाँ इटलीको भेट तीन पटकको युरो च्याम्पियन तथा विश्व च्याम्पियन जर्मनीसँग हुनेछ। जर्मनी प्रिक्वाटरफाइनलमा स्लोभाकियालाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो।