PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

​यसरी लगाउन सकिन्छ संसदमा महाभियोग, तर अहिलेसम्म बनेकै छैन सिफारिश समिति



मनोज सत्याल

​यसरी लगाउन सकिन्छ संसदमा महाभियोग, तर अहिलेसम्म बनेकै छैन सिफारिश समिति

काठमाडौँ : डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै महाभियोग लगाएर हटाउन १४ दिनको अल्टिमेटम दिएका छन्।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डाक्टर केसीलाई अख्तियारले उल्टै मेडिकः माफिया र भ्रष्टसँग साँठगाँठ भएको आरोप लगाएर विज्ञप्ति निकाल्यो।

डा. केसीले माग गरे अनुसार कार्कीलाई महाभियोग लगाउन कस्तो प्रक्रिया अपनाउनु पर्छ त?
 
नेपालको संविधानको धारा १ सय १ मा महाभियोग सम्बन्धि व्यवस्था छ जसमा राष्ट्रपति र उपराष्ट्रपतिसहित सर्वोच्चका प्रधान न्यायाधीश, न्यायाधीश र संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाएर हटाउने प्रस्ताव संसदबाट दुई तिहाईले पास हुनुपर्ने व्यवस्था छ।

तर महाअभियोग लगाउने आधार र कारण विद्यमान भए नभएको छानविन गरी सिफारिस गर्न संसदीय समिति रहने परिकल्पना संविधानले नै गरेको छ।

यो समितिले राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोगको आधार र कारणबारे छानबिन गर्न भने पाउने छैन।
 
समितिले सर्वोच्चका प्रधान न्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी र न्यायपरिषद् सदस्यको विषयमा भने अध्ययन गर्नेछ। संविधानमा त्यस्तो महाभियोग सिफारिश समिति ११ सदस्यीय हुने उल्लेख छ। तर यस्तो समिति अहिले संसदले बनाइसकेको छैन। यो समिति नबनेसम्म महाभियोगको प्रक्रिया अघि बढ्न सम्भव छैन। 

प्रक्रिया १ : एक चौथाइ सांसदले सूचना दिने
भर्खरै पारित भएको संसद नियमावलीले एक चौथाई सांसदले महाभियोग प्रस्ताव पेश गर्ने सूचना संसदका महासचिव र सचिवलाई दिए त्यस्तो प्रस्ताव अगाडि बढ्न सक्ने व्यवस्था गरेको छ।

प्रक्रिया २ : छलफल गराउने
यस्तो प्रस्तावमा सभामुखले संसदको बैठकमा सात दिनभित्र छलफल गराउनुपर्ने कार्यविधि छ।

प्रक्रिया ३ : महाभियोग समितिले अनुसन्धान गर्ने
उक्त प्रस्ताव संसद बैठकबाट महाभियोग समितिमा जानेछ। समितिमा अभियोग आरोपितले सफाइको मौका पाउनेछ भने समितिले अध्ययन अनुसन्धान गर्नेछ।

संसदको कार्यसञ्चालन नियमावलीले कतिसम्म स्पष्ट गरेको छ भने समितिले प्रतिवेदन पेश गरेपछि सांसदहरुलाई पढ्नका लागि कम्तिमा दुई दिनको समय दिनुपर्ने व्यवस्था छ।
 
प्रक्रिया ४ : प्रस्ताव तयार, दुई तिहाई आवश्यक
समितिको प्रतिवेदन त्यसपछि मात्र प्रस्तावको रुपमा अगाडि बढ्नेछ। यस्तो प्रस्ताव संसदको दुई तिहाईले पारित हुनुपर्ने छ।
 
यसरी महाअभियोग लागेको व्यक्ति भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति र मनोनयन हुन पाउनेछैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell