जनकपुरधाम : वैदेशिक रोजगारमा बर्सेनि अदक्ष श्रमिक जाने क्रम बढ्दै गएकाले ठगिने र दु:ख पाउनेहरुको संख्यामा वृद्धि भएको छ।
सामुदायिक विकासका लागि सहकार्य नेपाल र नवयुवा सरस्वती क्लबले गरेको ‘सुरक्षित आप्रवासन’ विषय कार्यक्रमका सहभागीले वैदेशिक रोजगारको जोखिमबारे औंल्याउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
एक तथ्याङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारमा जानेमध्ये ७४ प्रतिशत अदक्ष श्रमिक रहेका छन् ।
कार्यक्रमका सहभागीले राम्रोसँग कुरा नबुझी लहैलहैमा लागी वैदेशिक रोजगार जानाले पनि जोखिम बढ्दै गएको बताएका थिए। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निर्देशक निर्मला थापाले सही सूचना समयमै नपाएका कारण वैदेशिक रोजगार दुखद् बनेको बताइन्। कार्यक्रम प्रबन्धक खड्गबहादुर थापाका अनुसार नेपालका ५० लाख श्रमिक भारतमा विभिन्न क्षेत्रमा कार्यरत छन्।
विभिन्न दलका नेताहरुले पनि अधिकांश रोजगारदाताले फरक प्रकृतिको काम गराई शोषण गरिरहेको तथा कम्पनीले अपारदर्शी ढङ्गले पठाउने गरेका कारण आप्रवासन असुरक्षित बन्दै गएको बताएका थिए।
कार्यक्रममा संयोजक यम घिमिरेले ८५ प्रतिशत व्यक्ति श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा गइरहेकाले पनि दुर्घटना र दैवी प्रकोपको बेला उद्धारमा समस्या आउने गरेको स्पस्ट पारे।