काठमाडौं : भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने नेपाली कांग्रेसको मागप्रति समर्थन जनाउँदै नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन लाख दिन प्रस्ताव गरेका छन्।
नेपाली कांग्रेसले उठाएको मागका विषयमा छलफल गर्न सत्तारुढ र विपक्षी सांसद सम्मिलित कार्यदलको आजको बैठकमा महराले यस्तो प्रस्ताव गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट २ लाख रुपैयाँ दिनुपर्ने सहितको माग राख्दै संसद अवरोध जारी राखेपछि सोमबार कार्यदल गठन बनेको थियो। उक्त कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महरा पनि सदस्य रहेका छन्।
उनको प्रस्तावमा सहमत हुँदै कांग्रेसले भने अहिलेलाई दुई लाख नै माग गर्ने र थप एक लाखबारे पछि प्रस्ताव लैजाने धारणा राखेको कार्यदलका अर्का सदस्य राप्रपा नेपालका सदस्य दिलनाथ गिरीले बताए।
कार्यदलमा कांग्रेसका तर्फबाट चीनकाजी श्रेष्ठ, प्रकाशशरण महत र कृष्ण सिटौला रहेका छन् भने एमालेबाट सुवास नेम्वाङ, भीम रावल पनि छन्।
संसद बैठक सर्यो
आजको व्यवस्थापिका–संसद बैठक भने बेलुकाको लागि सरेको छ। साढे ३ बजेको लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेल बताए।भूकम्प पीडितलाई एकमुष्ट राहत नदिई सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै कांग्रेसले सदन अवरुद्ध पार्दै आएको छ।