PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​१० लाख रुपैयाँमा सरकारी जागिर : रकम गुम्यो, हातलाग्यो सून्य



सविन ढकाल

​१० लाख रुपैयाँमा सरकारी जागिर : रकम गुम्यो, हातलाग्यो सून्य


काठमाडौँ : २२ वर्षीय दीपेन्द्र यादव रोजगारीका लागि भौँताइरहेका थिए। प्लस टु उत्तीर्ण गरेदेखि नै उनका लागि जागीर आवश्यक नै बनेको थियो। यादव प्राइभेट कम्पनीमा भन्दा सरकारी जागिरमा नै लालायित थिए। सरकारी क्षेत्रमा खुल्ने हरेक विज्ञापनमा सबैभन्दा पहिले उनको नजर जाने गरेको थियो।

करिब १ वर्षअघि नेपाल विद्युत प्राधिकरणमा विभिन्न तहको लागि रोजगारी खुल्यो। जागिर एकदमै आवश्यक भएका यादवले विद्युत प्राधिकरणको चौथो तहमा फाराम भरे। फाराम भरेर मात्र उनको सरकारी कर्मचारी बन्ने सपना साकार हुनेवाला पक्कै थिएन।

हजारौँलाई पछि पारेर हरेक परीक्षामा उत्तीर्ण भएको खण्डमा मात्र उनको सपना विपनामा परिणत हुने थियो। लोकसेवा आयोगले लिने परीक्षा उत्तीर्ण गर्नु उनको पहिलो पहाड थियो।

फारम भरेसँगै उनी जुटे परीक्षाको तयारीमा। परीक्षा नजिकिँदै थियो, यादवको तयारी चलिरहेको थियो। यादवमा परीक्षा सहजै पास गर्छु भने हिम्मत भने मर्दै गएको थियो।

के खोज्छस् कानो आँखो भने जस्तै उनका लागि एक व्यक्ति भगवान झैँ बनेर भेटिए – २६ वर्षीय आशुतोष कुमार आश। नेपाल विद्युत प्राधिकरणका छैटौँ तहका कर्मचारी। यादवले दिन लागेको परीक्षाको सम्पूर्ण जिम्मेवारी आशकै हातमा रहेछ।

आशुतोषले दीपेन्द्रलाई परीक्षामा पास हुन सहयोग गर्ने प्रतिवद्धता दिलाए। तर आशुतोषले दीपेन्द्रलाई एक सर्त राखे- चौथो तहमा नाम निकाल्दिने तर १० लाख दिनुपर्ने। दीपेन्द्रलाई जसरी पनि सरकारी कर्मचारी बन्ने भूतले समाइसकेको थियो। उनले घरमा कुरा गरे। घरका परिवारले पनि आशुतोषलाई बोलाएर छलफल गरे। आशुतोषले १० लाख दिए नाम निस्कने कुरा गरे।

कागज गरे परिवारले उनलाई पैसा दिन सहमत भयो। आशुतोष र दीपेन्द्रबीच जुन सहमति भएको थियो, त्यो भ्रष्टाचार नै थियो। त्यसैले आशुतोषले यस्तो कुरामा कागज गर्न नमिल्ने भन्दै गर्न मानेन्।

गएको माघ ४ गते सनराइज बैँकमा रहेको आशुतोषको खातामा यादव परिवारले पैसा हालिदियो। अबको केही महिनामा नै दीपेन्द्र सरकारी कर्मचारी बन्नेवाला थिए। लोकसेवाको  परीक्षा पनि सकिसकेको थियो। दीपेन्द्र रिजल्टको प्रतिक्षामा थिए।

प्रतीक्षाको घडी पनि समाप्त भयो। रिजल्ट आयो। हतार हतार उनले पास हुनेको लिष्टमा आफ्नो नाम खोजे। तर अहँ, कतै भेटिएन। दीपेन्द्र र उनको परिवारलाई छाँगाबाट खसे झैँ भयो। आशुतोषलाई सम्पर्क गर्न खोजे, तर सम्पर्कमा आए पो।

पछि बुझ्दै जाँदा पो थाहा भयो, उनी त प्राधिकरणका नक्कली कर्मचारी पो रहेछन्।

अब कुनै उपाय बाँकी थिएन। दीपेन्द्रले प्रहरीमा उजुरी थिए। महानगरीय अपराध अनुसन्धान ब्युरो अनुसन्धानमा जुट्यो। कानुनको हातबाट कहिलेसम्म पो आशुतोष बच्न सक्थे र। अहिले नक्कली कर्मचारी बनेर जागिर लगाई दिने भन्ने आशुतोष प्रहरीको हिरासतमा छन्। चाँडै नै उनलाई अदालतको कठघरामा उभ्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

महानगरीय अपराध अनुसन्धानका एसएसपी सर्वेन्द्र खनाल भन्छन् - अहिले राजधानीमा यस्ता ठगीका घटना बढिरहेको छ । जागिर लगाइदिने, विदेश पठाउने र नक्कली सभासदसम्म बनेर ठग्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell