
काठमाडौँ : उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले वामपन्थी आन्दोलनलाई प्रजातान्त्रीकरण गर्नु नै मदन भण्डारीको मुख्य योगदान भएको बताएका छन्।
जननेता मदन भण्डारीको ६५ औं जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममा बोल्दै थापाले २०४७ सालमा सार्वजनिक भएर ५० सालमै अस्ताए पनि भण्डारीको योगदान अविष्मरणीय भएको चर्चा गरे।
'एक विदेशी पत्रकारले लेख्नुभएको थियो- उहाँ नेपाली आकाशमा लामपुच्छ्रे ताराझैं उदाउनुभएको थियो, उसरी नै बिलाएर जानुभो,' थापाले सम्झिए, 'तीन वर्षको छोटो समयभित्रै लोकप्रियता कमाउने र बहुआयामिक व्यक्तित्व भएका भण्डारीको अभाव हामीलाई खट्किरहेको छ।'
फरक विचार र राजनीतिको प्रतिस्पर्धाबाटै प्रजातन्त्र बलियो हुने भन्दै उपप्रधानमन्त्री थापाले भने, 'उहाँको राष्ट्रियता, जनताको सर्वोच्चता र आर्थिक रुपान्तरण नै मूल विचार थियो। त्यही जगमा टेकेर हामी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेछ।' द्वन्द्वमा नलागी परस्पर सहमति अँगालेमात्र प्राप्त उपलब्धि र परिवर्तन स्थायी हुन सक्ने थापाको भनाइ छ। 'देशले आधा दर्जन संविधान परिवर्तन गरिसक्यो। नयाँ संविधान बन्दा हामी नै यसको विपक्षमा उभियौं,' राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले भने, 'तर बहुमतबाट पारित संविधानलाई स्वीकार गरेका छौं।'
अबको गन्तव्य आर्थिक विकास र नेपालीको समृद्धि भएको भन्दै थापाले कसैसँग नझुक्ने, सम्झौता नगर्ने मदन भण्डारीको सोचबाट नेपाली राजनीति अघि बढ्नुपर्ने बताए।
भण्डारीको ६५औं जन्मजयन्तीको अवसरमा चिकित्सा सेवामा पुर्याएको योगदानका लागि भगवान कोइराला र ग्रामीण क्षेत्रमा दुरसञ्चारको पहुँच पुर्याउन महत्वपूर्ण काम गर्ने महावीर पुनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरियो। पुरस्कारको राशी जनही एक लाख एक रुपैयाँ रहेको छ।