PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

​भूकम्पले घर लग्यो, पहिरोले दुई छोरा



रासस

त्रिशूली (नुवाकोट) : नुवाकोटको बुङताङमा आज बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ।
 
बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घर बिहान ८ बजेतिर पहिरोले पुरेको थियो। सोही घटनामा उनका छोराहरु १३ वर्षीय छोरा आइतराम र ६ वर्षीय आशिषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य घाइते भएकी छन्।

पहिरोमा एउटा भैँसी र पाँच बाख्रासमेत पुरिएका थिए। भूकम्पले घर भत्किएपछि तामाङ जस्ताको टहरोमा बस्दै आएका थिए। टहरो नै पहिरोले पुरिँदा र दुई छोरा गुमाउँदा उनी विक्षिप्त छन्।

घाइते तथा मृतकको स्थानीयवासीले तत्काल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell