
काठमाडौं : आज बिहान ११ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ।
'विशेष कारण' जनाउँदै बैठक दिउँसोसम्मका लागि स्थगित गरिएको हो। बैठक दिउँसो दुई बजे बस्नेछ।
यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्ता पक्षबीच जारी असमझदारी हटाउन बनेको कार्यदलको बैठक भने जारी छ। भूकम्पपीडितलाई एकमुस्ट दुई लाख रुपैयाँ दिनुपर्ने मागसहित कांग्रेसले केही दिनदेखि सदन अवरुद्ध गर्दै आएको छ।
सोमबार गठित कार्यदल र शीर्ष नेताहरुबीच भइरहेको वार्ताले निष्कर्ष निकाल्ने अनुमान गरिएको छ।
हिजोको बैठकमा भने यसअघि राख्दै आएको मागप्रति लचकता अपनाउँदै कांग्रेसले पहिलो किस्तामा रु डेढ लाख र दोस्रो किस्तामा ५० हजार दिएर दुई किस्तामा भूकम्पपीडितलाई राहत रकम दिनुपर्ने प्रस्ताव राखेको थियो। व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापालगायत शीर्ष नेता र कार्यदलको संयुक्त बैठक बसेको थियो।