
टर्कीको अन्तराष्ट्रिय विमानस्थलमा तीन आत्मघाती हमलाकारीको आक्रमणमा परी कम्तीमा ३६ जनाले ज्यान गुमाएका छन्। घटनामा परि १ सय ५० भन्दा धेरै घाइते छन्। मृत्यु हुनेमा केही विदेशीसमेत भएको हुन सक्ने बताइए पनि पुष्टि भइसकेको छैन।
टर्कीका प्रधानमन्त्री बिनाली युलदरमले घटना आइएससँग सम्बन्धित समूहले गराएको बताएका छन्।
घटनाका प्रत्यक्षदर्शी विल कार्टरले अतातुर्क विमानस्थलमा दुई ठूला विस्फोटपछि भागदौड मच्चिएको बताए।
'पहिला त हामी विमानस्थलभित्रबाट बाहिर आयौँ तर लगत्तै अर्को विस्फोटपछि सेल्टर खोज्दै भित्र पस्यौँ,' उनले भने, 'हामीसँग अवस्था सामान्य नहुदाँसम्म पर्खनुको कुनै विकल्प थिएन।'
आत्मघाती हमलाकारीले आफैँलाई विस्फोट गराउनुअघि अन्धाधुन्ध गोलीसमेत चलाएका थिए।
हमलालगत्तै विमानस्थलमा उडान र अवतरणमा रोक लगाइएको थियो। घाइतेलाई ट्याक्सी र एम्बुलेन्समा अस्पताल पठाइएको थियो। त्यहाँको प्रहरीले विमानस्थल आसपास नरहन सर्वसाधारणलाई आग्रह गरेको छ।
टर्कीको सरकार र त्यहाँको कुर्द चरमपन्थीबीच भएको सात वर्ष लामो युद्धविराम खत्तम भएलगत्तै विस्फोटको घटनामा तीव्रता आएको छ।
अमेरिकी विदेश मन्त्रालयले टर्की भ्रमणमा सावधानी अपनाउन ट्राभल एडभाइजरी जारी गरिसकेको छ।