PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

चिली रणनीतिमा सफल, मेसीले सन्यास लिने बेला भएको छैन : सञ्जीव मिश्र, फुटबल विश्लेषक



पहिलोपोस्ट

चिली रणनीतिमा सफल, मेसीले सन्यास लिने बेला भएको छैन : सञ्जीव मिश्र, फुटबल विश्लेषक

विश्वकै नम्बर वान टीम र नम्बर वान खेलाडी भएको अर्जेन्टिनालाई यसपटक कोपा अमेरिका उपाधिको दाबेदारका रुपमा हेरिएको थियो। तर, सबैको अनुमानविपरीत अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिलीले कोपा अमेरिकाको उपाधि लगातार दोस्रो पटक आफ्नो पक्षमा पार्‍यो।
 
दुई टीम खेल्दा अन्डरडग टीम कमजोर नै हुन्छ र ठूला टीम फेभरेट हुन्छन्। ठीक त्यस्तै भयो- अर्जेन्टिना र चिलीबीचको खेलमा पनि। अर्जेन्टिना उपाधिको फेभरेट थियो भने चिली अन्डरडग। अन्डरडग टीमको योजना भनेकै निर्धारित समयमा रोक्दै खेललाई पेनाल्टी सुटआउटसम्म लैजाने हुन्छ। मेसीको टीम जहिल्यै फेभरेट हो। तर मेसी र अर्जेन्टिनाले यो बुझ्न सकेन।
 
मेसीको टीमविरुद्ध धेरैभन्दा धेरै समय खेलेर टाइम किल गर्दै टाइब्रेकरमा लैजाने रणनीति विपक्षीको हुन्छ।
 
चिलीले पनि ठिक त्यसै गर्‍यो। चिलीको लागि टाइब्रेकरमा पुग्नु नै फाइदाजनक भयो। मेसी र मेसीको टीमले निर्धारित समयभित्र कुनै पनि बेला गोल गर्न सक्छ भन्ने चिलीले पनि सायद बुझेको हुनुपर्छ।
 
गत वर्ष पनि चिलीले पेनाल्टी सुटआउटमै अर्जेन्टिनालाई हराएको थियो। त्यसैले चिलीले सकेसम्म खेललाई पेनाल्टीमै लैजाने जोड गर्‍यो। अर्जेन्टिनाले आफ्नो खेल खेल्न सकेन।
 
फाइनलमा खेलमा फिजिकल गेम र माइन्ड गेम धेरै भयो। अर्जेन्टिना फेभरेट थियो। राम्रो टीमलाई विपक्षीले फल गर्नु स्वाभाविक हो। चिलीले पनि अर्जेन्टिनाका खेलाडीलाई त्यसै गरे। चिलीले रफ खेल्दैमा अर्जेन्टिनाले त्यसको प्रतिकार गर्नु जरुरी थिएन। त्यसको फाइदा स्पष्ट रुपमा चिलीलाई भयो। अर्जेन्टिनाले बरु खेल सुधार गर्दै अगाडि बढ्नुपर्थ्यो। चिलीका खेलाडीले २८ औं मिनेटमा रातो कार्ड पाएसँगै अर्जेन्टिनालाई एडभान्टेज थियो।
 
चिलीले फल खेल्यो तर अर्जेन्टिनाले त्यसैलाई निरन्तरता दियो। एक्सनमा धेरै रिएक्सन भयो।
 
चिलीको योजना नै अर्जेन्टिनाको खेल बिगार्ने अनि आफ्नो खेल सुधार गर्ने मौका पाउँदा गोल गरे जित्ने थियो। तर अर्जेन्टिनाले पनि खेल बिगार्‍यो। जसको कारण ४२ औं मिनेटमा मार्कोस रोहोले रातो कार्ड खाए। अर्जेन्टिनाले चिलीको गेम बिगार्ने होइन आफनो गेम सुधार गरेर खेल जित्ने हो।
 
फुटबल ११/११ जनाले खेल्ने हो। तर १०/११ वा १०/१० जना खेल्दा खेलमा धेरै फरक पर्छ, रणनीतिअनुसार खेल्न सकिँदैन।
 
निर्धारित र अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलियो।
 
टाइब्रेकरमा चिलीले पहिले पेनाल्टी प्रहार गर्ने भयो। चिलीका अर्टुरा भिदालको पेनाल्टी सर्जियो रोमेरोले रोकेपछि अर्जेन्टिनालाई सुरुमै फाइदा पुग्यो। तर त्यसको फाइदा अर्जेन्टिनाले उठाउन सकेन। अर्जेन्टिनाका लागि पहिलो पेनाल्टी मेसीले प्रहार गरे। तर उनको प्रहार गोलमा परिणत हुन सकेन।
 
चिलीको पेनाल्टी मिस भएपछि अर्जेन्टिनाले रणनीति परिवर्तन गर्नुपर्थ्यो। सुरुमा अरुलाई मौका दिएर मेसीले पछि हानेको भए नतिजा अर्कै हुन सक्थ्यो। तर भएन।
 
मेसी मात्र होइन उत्कृष्ट खेलाडीहरु आफ्नो करिअरको अन्त्यतिर यस मामलामा चुकेको उदाहरण पनि छ।
 
१९९४ को विश्वकपमा इटलीका रोबर्टो बाजियो, फ्रान्को बेरुजुको पेनाल्टी मिस भएको थियो। यस्तै सन् १९९२ मा युरोअन्तर्गत नेदरल्याण्ड्सका मार्को भान बास्टेनको पेनाल्टी डेनमार्कका गोलरक्षकले रोकेका थिए।
 
चिलीको पेनाल्टी मिस भएपछि अर्जेन्टिना र मेसीले रणनीति परिवर्तन गर्नुपर्ने थियो। पेनाल्टीमा नाम पहिल्यै दिनुपर्ने हुँदैन, त्यसैले जसले पहिला हाने पनि हुन्छ।
 
पेनाल्टी सुटआउटमा फस्ट र लास्ट भाइटल हुन्छ। राम्रो खेलाडीले कि पहिला कि लास्टमा हान्छ।
 
रोमेरोले पेनाल्टी सेभ गरेपछि मेसीले अन्तिममा हान्नुपर्ने थियो। अरुलाई नै अगाडि हान्न दिनुपर्ने थियो।
 
सुरुमै मेसीको पेनाल्टी मिस भएपछि त्यसको असर अरु खेलाडीमा पनि पर्‍यो। पेनाल्टी हान्ने बाँकी खेलाडीलाई दबाब परिरहेको थियो।
 
मुख्य खेलाडीको पेनाल्टी बिग्रेपछि बाँकी खेलाडी दबाबमा आए र फलस्वरुप अर्जेन्टिनाका लुकास बिग्लियाको प्रहार चिलीका गोलरक्षकले रोके।
 
मेसी सानो कदका खेलाडी हुन्। अहिल्यै सन्यास लिने खेलाडी होइन र बेला पनि भएको छैन। फर्ममा हुँदाहुँदै पनि सन्यास लिनुपर्ने जरुरत थिएन। मेसीले आगामी २०१८ मा हुने विश्वकपसम्म खेल्नुपर्ने थियो।
 
यदि मेसीको सन्यास सम्भव भयो भने अर्जेन्टिनी टीमलाई धेरै असर पर्छ। मेसीसँगै मास्केरानो, अगुएरो लगायतहरुले पनि सन्यास लिने हो भने अर्जेन्टिनालाई पक्कै पनि मानसिक असर पर्छ।
 
अर्जेन्टिनी सरकारले पहल गरेर मेसीको सन्यास घोषणा फिर्ता गराउनुपर्छ। मलाई लाग्छ- मेसीले सन्यास फिर्ता पनि लिन्छन् होला।

(पहिलोपोस्टका खेल संवाददाता गोविन्दराज नेपालसँगको कुराकानीमा आधारित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell