PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

किन प्रधानमन्त्री बोल्दाबोल्दै जर्‍याकजुरुक उठ्यो कांग्रेस?



रमेश वाग्ले

किन प्रधानमन्त्री बोल्दाबोल्दै जर्‍याकजुरुक उठ्यो कांग्रेस?

काठमाडौं : भूकम्प पीडितलाई सरकरले दिने राहत एकमुष्ठ दिन माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले गत बिहीबारदेखि संसद अवरोध गरिरहेको थियो। सोमबारसम्म पनि संसदको अवरोध जारी रहेपछि सरकारले नै प्रस्ताव गरेर प्रतिपक्षका तीन जना र सत्तापक्षका चार जना गरी सात सदस्यीय संयुक्त कार्यदल बनेको थियो।

कार्यदलले भूकम्प पीडितका लागि विशेष प्याकेज बनाएर सहमतिको ड्राफ्ट तयार पार्‍यो। सहमतिमा हस्ताक्षर भने भएन। प्रधानमन्त्रीले संसदमा सहमति भएका विषयहरु सम्बोधन गर्ने र त्यसलाई लागू गर्ने भनेपछि चार बुँदे सहमति हस्ताक्षर आवश्यक भएन।

दिउँसो दुई बजेका लागि डाकिएको बैठकको सुरुमा मधेसी मोर्चाका तर्फबाट नरसिंह चौधरीले बोले र मोर्चाले बैठक बहिस्कार गर्‍यो। नेपाली कांग्रेसले सरकारसँग सहमति भए पनि अवरोध जारी रहेको कुरा संसदमा देखाउला र सभामुखको आश्वासन खोज्ला भन्ने धेरैलाई लागेको थियो। तर, कांग्रेसले अवरोधको संकेत गरेन। मोर्चा बाहिरिँदै गर्दा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीलाई समय दिइन्।

कांग्रेसका सांसद चुप बसे। प्रधानमन्त्री केपी शर्मा ओली रोष्ट्रममा उभिएर सुरुमा अफगानिस्तानमा ज्यान गुमाएका नेपाली, घाइते र सरकारले गरेको प्रयासका विषयमा जानकारी गराए। त्यसपछि पनि उनले विगतमा गरेको तयारी अनुसार प्राधिकरणमा सरकारले गरेका काम र प्राप्त गरेका उपलब्धिका विषय चर्चा गरे। र, उनले 'कांग्रेसले भूकम्प पीडितका समस्याप्रति चिन्ता र चासो राख्दै सदन समेत अवरोध गरेको' उल्लेख गरे। त्यसलाई सम्बोधन गर्न केही समस्या रहेको भन्दै 'ऐन संशोधन र दाताहरुसँग समझदारी गर्ने काममा सहमति भए भूकम्प पीडितलाई पहिलो किस्तामा डेढलाख दिन सकिने,' बताए।

त्यही बेला नेपाली कांग्रेसका नेता प्रकाशशरण महत उठेर विरोध जनाइहाले। कांग्रेसका सांसदहरुबीच नै केही असमझदारी देखियो त्यतिखेर। त्यही बेला प्रधानमन्त्रीले 'मलाई लाग्छ यति भनेपछि नेपाली कांग्रेसका सांसद्हरु पनि सन्तुष्ट हुनुभयो होला' भने। कांग्रेसका सांसदहरु उठेर नै विरोध गरे।
 
संसद नियमावली अनुसार प्रधानमन्त्री वा मन्त्रीले समय लिएर बोलेपछि विपक्षले प्रश्न उठाउन पाउँदैन तर नियम उल्लंघन भए नियमापत्ति मात्र गर्न पाउँछ।

सभामुखले ध्यानाकर्षण गराएपछि कांग्रेस बस्यो। प्रधानमन्त्रीले 'मैले प्रतिपक्षको कुरा बुझिन। मैले नेपालीमा भनेको छु, उहाँहरुले के बुझ्नुभएन मैले नबुझेको कुरा यो हो' भन्दै प्रतिपक्षीलाई थप कडारुपमा प्रहार गरे। प्रतिपक्षी कांग्रेस मौन बस्यो।

प्रधानमन्त्रीको सम्बोधन सकिएलगत्तै कांग्रेसले पत्रकार सम्मेलन गर्‍यो र प्रतिपक्षले जनताका पक्षमा उठाका माग सम्बोधन भएकोमा खुसी व्यक्त गर्‍यो। प्रधानमन्त्रीले बोल्दा कांग्रेस किन उठ्यो र विरोध जनायो त? हामीले प्रश्न गर्‍यौं।

कांग्रेस सभापति शेरबहादुर देउवाले स्वभाव अनुसार छोटो जवाफ फर्काए-'त्यस्तो ठूलो विषय थिएन, प्रधानमन्त्रीले पीडितलाई डेढ लाख दिन सकिनेछ भन्नुभयो। हामीसँगको सहमति अनुसार दिइनेछ भन्नुपर्थ्यो त्यसैमा हाम्रो विरोध हो।'

देउवाले प्रधानमन्त्री ओलीले पछि त्यो कुरा सच्याइसकेकाले विरोध पनि सकिएको बताए। र भने, 'यो विषय संसद्मा सम्बोधन भएर पुग्दैन पीडितले राहत नपाउँदासम्म हामी चुप बस्दैनौ।'
फोटो : रत्न श्रेष्ठ/रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell