
आइसल्याण्डका प्रशिक्षक हेमिर हलग्रिनसन आफुहरु लेस्टर सिटी जस्तै बन्न चाहेको बताएका छन्। 'लेस्टर सिटीले जसरी अन्त्य गर्यो मेरो विचारमा मलाई पनि यसरी नै अन्त्य गर्ने मन छ,' हलग्रिनसनले भने, 'उनीहरुले आफ्नो शक्तिमा खेले, हामी पनि आफ्नो शक्तिमा खेल्ने प्रयास गरिरहेका छौं। दुवै टीमको टीम स्पिरिट उस्तै छ। हामी एक अर्काका लागि खेल्न तयार छौं।'
फ्रान्समा जारी युरो २०१६ को प्रिक्वाटर फाइनलमा इंगल्याण्ड जस्तो बलियो टोलीलाई पराजित गरेको आइसल्याण्ड गत वर्ष प्रिमियर लिग उपाधि जितेको लेस्टर सिटीकै अनुकरण गर्ने चाहना रहेको प्रशिक्षकले बताएका हुन्।
आइसल्याण्डले युरो क्वाटर फाइनलमा फ्रान्ससँग खेल्दैछ। 'हामी जित्न चाहन्छौं तर हामीलाई साँच्चै आवश्यक छैन, जुन हाम्रो लागि ठुलो फाइदा हो,' हलग्रिनसनले भने।
कुनै नाम नचलेका खेलाडी हुँदा पनि लेस्टर सिटीले ठुला क्लबहरुलाई पछि पार्दै ऐतिहासिक प्रिमियर लिगको उपाधि जितेको थियो।
पहिलो पटक ठुलो प्रतियोगितामा खेलिरहेको आइसल्याण्ड युरोमा अहिलेसम्म अपराजित छ। पोर्चुगल, हंगेरी, अष्ट्रिया जस्तो टीम रहेको समूहबाट आइसल्याण्ड उपविजेता बनेको थियो भने प्रिक्वाटर फाइनलमा इंग्ल्याण्डलाई २–१ ले स्तब्ध पार्दै सनसनी मच्चाउन सफल भयो।