
काठमाडौं : विभागीय डर्बी भिडन्तमा नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ क्लबले यती फलोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा एपिएफले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो।
डिफेन्डिङ च्याम्पियन समेत रहेको एपिएफले गत वर्ष पहिलो संस्करणको फाइनलमा न्यु डायमन्ड एकेडेमीलाई हराउँदै उपाधि जितेको थियो।
यस्तै तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्डले पश्चिमाञ्चललाई २५–१४, २५–१९, २३–२५ र २५–१७ ले हराएको थियो।
उपाधि जितेसँगै एपिएफले नगद एक लाख पुरस्कार प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको पुलिसले ६० हजार र तेस्रो भएको डायमन्डले ४० हजार पाएको छ।
प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भइन्। उनले नगद १५ हजार र बुद्ध एयरको माउन्टेन फ्लाइट टिकट प्राप्त गरिन्।
यस्तै न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, एपिएफकी नेविका चौधरी उत्कृष्ट सर्भर, एपिएफकी उषा विष्ट उत्कृष्ट ब्लकर, एपिएफकी बिनिता बुढाथोकी उत्कृष्ट सेटर र नेपाल पुलिस क्लबकी कमला पुन उत्कृष्ट डिफेन्स घोषित भइन्। प्रशिक्षकमा पनि एपिएफकै सुदेशकुमार रिमाल उत्कृष्ट ठहरिए।
६ विधाका उत्कृष्टलाई भलिबल संघका निवर्तमान अध्यक्ष दानबहादुर तामाङले नगद १८ हजार प्रायोजन गरेका थिए। शेरबहादुर खड्का स्मृति प्रतिष्ठान बालकोट–१ ले आयोजना गरेको प्रतियोगितालाई केडिया ग्रुपको उत्पादन यती फलोरिङले मुख्य प्रायोजन गरेको थियो। प्रतियोगितामा आइएमई रेमिटले सह–प्रायोजन गरेको थियो।
४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभागीय टोली एपिएफ, पुलिस, त्रिभुवन आर्मीसँगै न्यु डायमन्ड, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता थियो।