
फ्रान्समा चलिरहेको १५ औं सस्करणको युरोअन्तर्गत क्वाटरफाइनलका खेल आजबाट सुरु हुँदैछन्।
२४ टोलीको सहभागिता रहेको प्रतियोगिताबाट उत्कृष्ट ८ टोली क्वाटरफाइनलमा पुगेका छन्।
कुल ५१ मध्ये ४४ खेल सम्पन्न भइसकेको छ भने दुई चरणका खेलहरु पनि सकिएका छन्। अब क्वाटरफाइन, सेमिफाइनल र फाइनल गरी तीन चरणका खेल बाँकी छन्।
डिफेन्डिङ च्याम्पियन स्पेन प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ भने उपाधि दाबेदारको रुपमा हेरिएको इंगल्याण्ड पनि अन्तिम १६ बाटै घर फर्केको छ।
आयोजक फ्रान्ससँगै पूर्वविजेताहरु जर्मनी र इटलीले क्वाटरफाइनलमा स्थान बनाएका छन्। यस्तै पोल्याण्ड, पोर्चुगल, बेल्जियम, वेल्स र आइसल्याण्डले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ।
आज मध्यराति हुने पहिलो क्वाटरफाइनलमा पोल्याण्ड र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली अहिलेसम्म अपराजित रहेका छन्।
पोल्याण्ड पहिलो पटक क्वाटरफाइनल पुगेको हो भने पोर्चुगल सन् २००४ को फाइनलिस्ट हो। घरेलु मैदानमा भएको उक्त प्रतियोगितामा पोर्चुगल फाइनलमा ग्रीससँग पराजित भएको थियो।
समूह चरणको तीन वटै खेलमा बराबरी गर्दै तेस्रो स्थानमा रहने ६ टोलीमध्ये उत्कृष्ट बनेको पोर्चुगलले प्रिक्वाटरफाइनलमा क्रोएसियालाई पराजित गरेको थियो।
यता पोल्याण्डले समूह चरणमा दुई खेल जितेको थियो भने एक खेल बराबरी गरेको थियो। समूह चरणमा कुनै गोल नखाएको पोल्याण्डले प्रिक्वाटरफाइनलमा भने स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।
निर्धारित समयमा एक-एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा पोल्याण्डले ५–४ को जित हात पारेको हो।
क्वाटरफाइनलका खेलहरु
असार १७ : वेल्स भर्सेस बेल्जियम-- मध्यरात १२:४५ बजे
असार १८ : जर्मनी भर्सेस इटली-- मध्यरात १२:४५ बजे
असार १९ : फ्रान्स भर्सेस आइसल्याण्ड मध्यरात १२:४५ बजे