PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

प्राकृतिक प्रकोपको क्षति र राहतबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण



पहिलोपोस्ट

प्राकृतिक प्रकोपको क्षति र राहतबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं : व्यवस्थापिका संसदको आजको बैठकमा विशेष समय बोल्ने अधिकांश सांसदले पुनर्निर्माण र मनसुनले निम्त्याएको प्राकृतिक प्रकोपबारे धारणा राखेका छन्।
 
कांग्रेस सांसद चीनकाजी श्रेष्ठले गोर्खामा गएको पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी गराउँदै कतिपय गाविस सम्पर्क विच्छेद भएको बताए। 'खच्चर हिँड्ने त कता हो कता मान्छे हिँड्ने बाटो समेत छैन,' उनले भने, ' माली भेगका गाविसहरु सम्पर्कविहीन हुन लागेका छन्। यसमा सकारले ध्यान पुर्‍याओस्।'
 
ऋषिकेश पोखरेलले मोरङमा बक्राहा खोलाले बर्दघाटमा तटबन्ध भत्काएको र बालिनालीमा क्षति पुगेका जनतालाई क्षतिपूर्ति दिनुपर्ने आवाज उठाए। तेली खोलामा यसै वर्षदेखि झोलुङ्गे पुल निर्माण थाल्नुपर्ने पनि उनले माग गरेका छन्।
 
गौरीशंकर चौधरीले प्रत्येक वर्ष आउने बाढीपहिरोले धनजनको क्षति पुग्ने भएको भन्दै यसका लागि सरकारले समयमै सतर्कता अपनाउनुपर्ने धारणा राखे। 'यो साल पनि बाढी पहिरो जाने र विपद् सुरु भइसकेको अवस्था छ,' उनले भने, 'सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, हामीले पूर्वतयारीका साथै बाढीपहिरो व्यवस्थापन र राहत उद्धारका लागि पहल गर्नुपर्‍यो।'
 
यस्तै, परशुराम तमाङले धादिङका विभिन्न गाविसमा पहिरोले पुर्‍याएको क्षतिबारे सदनमा जानकारी गराए। नुवाकोटको सत्यदेवी गाविसस्थित तिर्पाङको झोलुङ्गे पुल बगाएकाले सात-आठ गाविसका जनताको आवातजावत अवरोध भएको तथा पहिरोले स्कुल भवन भत्काएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
 
अविरल वर्षाका कारण पूर्वपश्चिम तटबन्धले नेपाली भूमि डुबान भइरहेको भन्दै अर्का सांसद प्रेम सुवालले सरकारको ढिलासुस्तीबारे आलोचना गरे। पुनर्निर्माणमा राजनीति नगर्न पनि उनले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell