PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​तीन दिनदेखि यातायात अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या



रासस

कावासोती : वर्षाका कारण नवलपरासीको दलदले–बुलिङ्टार सडकखण्ड अन्तर्गत अर्खलाको ढुङ्ग्रेमा पहिरो गएपछि तीन दिनदेखि यातायात अवरुद्ध भएको छ। यातायात अवरुद्ध हुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या परेको छ।
 
बर्सेनि सडक निर्माणको रकम पुग्ने गरे पनि निर्माण कम्पनीको लापरबाहीका कारण समयमा सडक बन्न नसक्दा पहाडी भेगका बासिन्दाले वर्षायाममा दुःख पाउने गरेका छन्।
 
दलदलेबाट अर्खलासम्म सवारी साधन सञ्चालन भए पनि त्यहाँबाट मान्छेलाई सामान बोकेर बुलिङ लैजाँदा प्रतिकेजी रु सातसम्म खाद्यान्नमा महँगो हुने गरेको व्यापारीले बताएका छन्। 'बाटो कठिन छ तर पनि अर्खलासम्म राहत दिएका छौँ,' लेकबेँसी यातायात व्यवसायी समितिका अध्यक्ष युवराज बस्यालले भने, 'एक दिन हिँड्नुपर्नेमा हामीले आधा घटाउने काम गरेका छौँ।'
 
१५ वर्षदेखि बुलिङ्टारका बासिन्दाले सडक समस्या भोग्नुपरेको छ। वर्षामा बिरामी हुँदा अस्पताल पुग्न पनि गाह्रो भएको स्थानीयवासीले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell