काठमाडौं : एउटा कविता लेखियो, कविताको अंश कथा बन्यो अनि त्यो कथा फिल्म।
फिल्म बनेन मात्र, अरु लघु फिल्मभन्दा फरक साबित पनि भयो। फरक यस अर्थ कि सो फिल्मले सन् २०१५ मा क्यानेस फिल्म फेस्टिभलमा सर्ट फिल्म कर्नर पायो। साथै सार्क फिल्म फेस्टिभलको २०१५ मै बेस्ट सर्ट फिल्म अवार्ड पनि हात पार्यो।
'लभ? लस्ट? लाइफ?’
इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न, दिल्ली इन्टरनेस्नल फिल्म फेस्टिभल र बुफ्फालो निअग्रा इन्टरनेसनल फिल्म फेस्टिभलमा अफिसियल सेलेक्सनमा परेको यो फिल्म फिल्म स्टडिजका विद्यार्थीले आफ्नो शैक्षिक प्रोजेक्ट पूरा गर्न मात्र बनाएका थिए। तर यो कलेजभित्र मात्र सीमित रहेन, अन्तर्राष्ट्रिय ख्याति कमायो। नेपाली लघु फिल्म निर्देशन र निर्माणको नमुना बन्यो।
फिल्म बनाउन सुरु गर्दादेखि केन्द्रमा रहे युवा निर्देशक उत्पल झा। उनकै कविता यस लघु चलचित्रको शृंखला बनेको हो। फिल्म बनाउनुअघि पनि उनले अफवाह, साइलेन्स अफ रिक्सा, वेक अप जस्ता सर्ट मुभीमा सहायक निर्देशकको भूमिका निर्वाह गरेका थिए। तर २०१५ मा बनेको 'लभ? लस्ट? लाइफ?' नमुना सर्ट मुभी बन्यो।
थोरैको साथ, सहयोग र प्रोत्साहन र एउटा कविताको अंशले बनेको फिल्म सफल हुन्छ भन्ने उनलाई पनि लागेको थिएन। तर विश्वास नगरी उनले धरै पाएनन्। आफ्नो काव्यिक कलालाई फिल्ममा उतार्न उनले खुब मेहनत गरेका थिए। फिल्म बन्यो र सफल पनि भयो। फिल्ममा दिव्य देव, सृति प्रधान, अलिज बिआनिक, मेनुका प्रधान लगायतका कलाकारहरुको मुख्य भूमिका छ।
लघु फिल्मको ट्रेन्ड बढ्दो छ। मनोरन्जन र सन्देशमूलक फिल्म निर्माणको बहानामा निकै हल्का विषयवस्तुले पनि युट्युबमा ठाउँ र भ्यु पाएका छन्। तर निर्देशकीयसँगै अभिनयको पक्षमा पनि उदाहरणीय प्रस्तुति दिएको ‘लभ? लस्ट? लाइफ?’ ले खासै ध्यान पाएको छैन। २१ मिनेट लामो फिल्म युट्युबमा मात्र दुई हजार पटक हेरिएको छ।
'मेरो कवितालाई मैले फिल्म बनाएँ। धेरै जनाको मेहेनत छ,' निर्देशक झा ले भने, 'विशेषगरी मेरा लागि यो फिल्म आफ्नै बच्चासरह हो।'
अस्कर इन्टरनेशनल कलेजबाट फिल्म स्टडिजमा स्नातक गरेका निर्देशक झा मानविकी संकायका गोल्ड मेडलिस्ट हुन्। फिल्म निर्देशनसँगै अभिनयमा पनि देखिएका उनी अहिले 'पिएस जिन्दगी' नेपाली अनलाइन सिरिजमा देखिएका छन्।
यस्तो बन्यो, 'लभ? लस्ट? लाइफ?'