
काठमाडौं : पछिल्लो समय नेपालमा निकै चर्चित बनेको फुटसल (इन्डोर फुटबल) को नेपालमा पहिलो पटक प्रिमियर लिग हुने भएको छ।
यसअघि फुटसलका विभिन्न प्रतियोगिताहरु हुँदै आएपनि फुटसलकै प्रिमियर लिग हुन लागेको भने यो पहिलो पटक हो।
एएमए इभेन्ट्स प्रालिको आयोजनामा हुन लागेको लिगको विजेताले नगद १० लाख पुरस्कार प्राप्त गर्नेछ। लिगमा १६ टीमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
उत्कृष्ट १६ टीम छनोटका लागि साउन १० गतेबाट छनोट चरणका खेलहरु शुरु हुनेछन् भने लिग चरणका खेलहरु भदौ तेस्रो साताबाट हुने प्रतियोगिताका संयोजक विवेक गौतमले जानकारी गराए। छनोट चरणका खेलहरु भने नकआउटका आधारमा हुनेछ। छनोट चरणमा करिव ६० भन्दा बढी फुटसल टीमले सहभागिता जनाउन सक्ने आयोजकले बताएको छ।
लिग चरणमा हरेक टीमले होम एण्ड अवेका आधारमा खेल खेल्नेछन्। लिग चरणमा कुल २ सय ४० खेल हुनेछ। लिगका खेलहरु शुक्रबार र शनिबार हुने र एक दिनमा आठ खेल हुने आयोजकले बताएका छन्।
फिफाको फुटसल नियमअनुसार नै प्रतियोगिता गराउने संयोजक गौतमले बताए। यस्तै गौतमले प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ(एन्फा) सँग पनि सहकार्य गर्ने बताएका छन्।
प्रतियोगितामा हरेक टिमले एक जना ‘ए’ डिभिजन लिगका खेलाडी राख्न पाउने प्रावधान राखिएको छ । भाद्र तेस्रो साताबाट शुरु हुने लिग पौष तेस्रो सातासम्म चल्नेछ । विजेताको छिनोफानो अंकका आधारमा गरिने छ । यदि अंक बराबरी भए गोलअन्तर तथा हेड टु हेडका आधारमा छानिने छ ।
खेलकुदमा पहिलो पटक हात हालेको बताउँदै यसले सफलता पाए आगामी वर्षहरुमा पनि लिगलाई निरन्तरता दिदै जाने संयोजक गौतमले बताए।
लिगको विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट हुने खेलाडी र गोलरक्षकले जनही ५० हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।