PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

एक महिला सांसद जो सदनमा बोल्दा अरु धेरै सांसद हाँस्छन्



मनोज सत्याल

एक महिला सांसद जो सदनमा बोल्दा अरु धेरै सांसद हाँस्छन्

काठमाडौँ : संसदमा जब उनी फररर संस्कृतको श्लोक पढ्छिन्- केही सांसदहरु ध्यान दिएर सुन्छन् अनि केही सांसदहरु मुस्कुराउन थाल्छन्।
राप्रपा नेपालकी सांसद कान्ता भट्टराई संसदमा बोल्न समय पाउने बित्तिकै भाका हालेर श्लोक भन्छिन्। तर उनको श्लोक विषय वा प्रसङ्ग बाहिरको भने हुन्न।
 
महेन्द्र संस्कृत विश्वविद्यालयबाट संस्कृतमा एमए गरेकी उनी नीतिशास्त्रमा विश्वविद्यालयबाटै पिएचडी गर्दैछिन्।

उनी संस्कृतको श्लोक भाका हालेर मात्र छाड्दिनन् त्यसको अर्थ समेत लगाउँछिन्। अनि सबैलाइ नेपालीमा बुझाउँछिन्। साथै त्यसको सन्दर्भ जोडेर सरकारको खबरदारी पनि गर्छिन् ।

बिहीबारको संसद बैठकको शून्य समयमा पनि भट्टराईले जनकपुरको साठी लाख दाइजो लिएर फरार भएका डाक्टरलाई के कारवाही गरिन्छ भन्दै प्रश्न गरिन्।

उनले प्रश्न गर्नु अघि संस्कृतमा श्लोक सुनाइन्। जसको अर्थ उनी आफैँले लगाउँदै भनिन् - 'नारीको गौरवशाली महिमा छ। एउटी नारीको गरिमा पुरुषको भन्दा हजार गुणा बढी छ।'
हेर्नुस् भिडियो-


बिहीबारको बैठकमा उनले श्लोक सुनाएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उनलाई बधाइ दिए।

'उहाँले बधाइ दिएपछि म गएँ, शिक्षा मन्त्रीलाइ भेटेँ। अनि भने मन्त्री ज्यू तपाईँले संस्कृत शिक्षा र गुरुकुलका लागि ध्यान दिनुपर्‍यो।'
संस्कृत पढेकी भट्टराई भन्छिन् -  'राष्ट्र बचाउनुपर्छ भने गुरुकुल बचाउनुपर्छ।'

वाल्मिकी क्याम्पसबाट संस्कृतिमा एमए गरेकी उनी गर्व साथ सुनाउँछिन् - 'म नेपालकै उत्पादन हुँ, बनारसी बाबु होइन। बनारसमा त सर्टिफिकेट पनि पाइन्छ।'

उनको अध्ययन संस्कृतमा मात्र सीमित भने छैन। उनले साइकोलोजीमा समेत डिग्री गरेकी छिन्।

राजनीतिमा लाग्नु अघि भने उनी शिक्षण पेशामा आबद्ध थिइन्। राप्रपा नेपालमा 'पार्टीकै कारणले मात्र भन्दा पनि धार्मिक अजेण्डा उठाएकाले लागेको' उनको तर्क छ।

'म कांग्रेस भातृ संगठन नेविसंघको ३६ सालमा कोषाध्यक्ष थिएँ,' उनी आफ्नो राजनीतिक पृष्ठभूमि सुनाइन्, 'म कांग्रेसी हुँ तर कांग्रेसले जब हिन्दु राष्ट्रको एजेण्डा छाड्यो मैले त्यसै हुनाले कांग्रेस पार्टी त्यागिदिएकी हुँ।'

उनलाई अहिले पनि कांग्रेसका सांसदहरुले पार्टीमा फर्कन आग्रह गर्ने गरेको उनको भनाइ छ।

'मैले पिएचडीको थेसिसको फोकस समेत राजनीतिले धर्म नीति छाड्यो भन्नेमा फोकस गरेकी छु', उनी सुनाउँछिन्। साथै भन्छिन् - 'संस्कृतमा बोल्न छाड्दिन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell