फ्रान्समा जारी युरो २०१६ अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा पोल्याण्डलाई पेनाल्टीसुटआउटमा ५–३ ले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेटमा अतिरिक्त ३० मिनेटको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेलको पेनाल्टीसुटआउटमा पुगेको हो।
पेनाल्टीसुटआउटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, रेनाटो सान्चेजले जाओ माउटिन्हो, नानी र रिकार्डो क्वारेस्माले गोल गरे। पोल्याण्डका लागि रोबर्ट लेवान्डास्की, अर्काडिउस मिलिक, कमिल ग्लिक मात्र पेनाल्टीमा गोल गर्न सफल भए भने ज्याकुव ब्लाज्कोवस्कीको प्रहार पोर्चुगलका गोलरक्षकले रोके।
जारी युरोमा पेनाल्टीसुटआउटबाट नतिजा छिनोफानो भएको यो दोस्रो पटक हो। यसअघि प्रिक्वाटरफाइनलको खेलमा पोल्याण्डले स्विट्जरल्याण्डलाई ५–४ ले हराएको थियो। तर दोस्रो पटक पेनाल्टीसुटआउटमा पोल्याण्ड सफल हुन सकेन।
स्टेड भेलोड्रोनमा भएको खेलको दोस्रो मिनेटमै स्ट्राइकर रोबर्ट लेवान्डास्कीले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका हुन्। यसअघिका चार खेलमा गोल गर्न नसकेको लेवान्डास्कीको पोल्याण्डका लागि यो ३५ औं गोल हो।
लेवान्डास्कीको गोल जारी युरोकै सबैभन्दा छिटो गोल हो। उनले १ मिनेट ४० सकेकेण्डमा गोल गरेका हुन् । यसअघि प्रिकवाटरफाइनलमा आयरल्याण्डका रोबी ब्राडीले फ्रानस विरुद्ध दोस्रो मिनेटमा गोल गरेका थिए।
३६ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। नानीको ब्याक पासमा गोल गरेका हुन्। उक्त गोलसँगै सान्चेज युरोकप को नकआउट राउण्डमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। यस्तै जारी युरोमा पहिलो पटक पहिलने रोजाईमा परेका सान्चेज पोर्चुगलका लागि सबैभन्दा कम उमेरमा खेल सुरु गर्ने खेलाडी समेत बने।
पोर्चुगलले अब सेमिफाइनलमा वेल्स र बेल्जियमको विजेतासँग खेल्नेछ।