मलेखु : विकटमा रहेको उत्तरी धादिङको री गाउँ विकास समिति–९ चेप्राङ गाउँमा वर्षापछि आएको पहिरोका कारण ६ घरका २२ जना सङ्कटमा परेका छन्।
बुधबार रातिको वर्षापछि गाउँमाथिबाट पहिरो आई चारैतर्फ जान नसकिने अवस्था आएपछि उनीहरु सङ्कटमा परेका हुन्। विकटमा त्रिपालमुनि बसिरहेका सङ्कटमा परेको खबरपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी उनीहरुको उद्धार गर्ने जानकारी प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले दिए पनि उद्धार भएको छैन।
घटनास्थल क्षेत्रको अवलोकनका लागि प्रमुख जिल्ला अधिकारी एक हेलिकप्टर लिएर गए पनि उनीहरुको उद्धार हुन नसकेको हो। त्रिपालमुनि बसिरहेका तामाङ समुदायका मानिस रातिको समयमा पहिरो आएपछि घर छाडेर सँगैको जङ्गलमा गएर बसेको र उद्धारको प्रतीक्षा गरिरहेको भए पनि पहिरो लडेको स्थानबाट उनीहरु भएको स्थानमा पुग्न कठिन परेकाले उद्धार हुन नसकेको टेलिफोनबाट आकाश तामाङले जानकारी दिए।
घटना भएको सूचना पाएपछि प्रहरी घटनास्थलतर्फ पठाइसकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ तर सो क्षेत्र टाढा भएकाले थप सूचना नआएको प्रहरीको भनाइ छ। रासस