PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

​दार्चुलामा दुईको मृत्यु, एक बेपत्ता



रासस

बैतडी : गएराति देखिको वर्षाका कारण आएको पहिरोमा पुरिएर आज बिहान दार्चुलामा दुईजनाको  मृत्यु भएको छ।
 
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शुक्रबार बिहान घरमाथिबाट आएको पहिराले घर पुरिँदा मालिकार्जुन–८ भौतडी मुसेकाँडाकी वसन्ती धामी रहेकी छन्।
 
यस्तै, सर्मोली–४ बसौडीका ६० वर्षीय शिवदत्त पन्तको पनि पहिरोले घर पुरिँदा ज्यान गएको छ। घरमा रहेको लत्ताकपडा, अन्नलगायत गाईवस्तुसमेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। पानी परिरहेका कारण उद्घारमा समस्या भएको बताइएको छ।
 
यसैगरी, अपी नगरपालिका–१७ धापमा पहिरोले घर बगाउँदा प्रेमसिंह महरकी श्रीमती बेपत्ता भएकी र एकको नाम खुल्न नसकेको प्रहरीले बताएको छ। प्रहरीको टोली घटनास्थलतर्फ गएको बताइएको छ।
 
उकु गाविसमा रहेको जौलजिवी प्रहरी चौकीमा पहिरो खस्दा प्रहरी चौकी सारिएको छ। बिहीबार राति प्रहरी चौकी भवनमा माथिबाट पहिरो आएपछि प्रहरी चौकी वन रेन्जपोस्ट कार्यालयमा सारिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
 
वर्षाले दार्चुलाका विभिन्न क्षेत्रमा पहिरो जानका साथै घर भत्किएका छन्। खरकडा–५ ओडीगाँउ, उकु–२ च्युरानी, उकु–९ पन्तवाली, हुनैनाथ–९ औतालेक, सर्मोली–२, भगवती–४, डाँडाकोट–८ लिमेतीलगायतमा स्थानमा पहिरो गएको प्रारम्भिक खबर आएको प्रहरीले बताएको छ। बिहीबार रातिदेखि परेको मुसलधारे वर्षाले दार्चुला जिल्लाभरिको जनजीवन प्रभावित बनेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell