PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'कुवेरतन्त्र' जहाँ नेता सपना देख्न, गमलामा धान रोप्न सक्छन् तर राहत दिन सक्दैनन्



किशोर नेपाल

'कुवेरतन्त्र' जहाँ नेता सपना देख्न, गमलामा धान रोप्न सक्छन् तर राहत दिन सक्दैनन्

बुधवारको दिन नेपाल सरकारका कार्यकारी प्रमुख, उनका मन्त्रीहरु, उनका दलका सांसदहरु, समर्थकहरु र संचारकर्मीहरु सबैको अनुहार कालो बादलले ढाकिएको आकाश जस्तो देखिएको थियो। संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई एक हिसाबले झुकाएको थियो। भुईंचालो पीडितलार्ई किस्तावन्दीमा घर बनाउने रकम राहत बाँड्ने नारा लगाउने तर राहत नबाँड्ने सरकारलाई संसदमा बोल्न अवरोध गर्ने प्रमुख प्रतिपक्षीको निर्णय सरकारका लागि महंगो सावित भयो। अन्ततः सरकारले प्रमुख प्रतिपक्षी दलले भुईंचालो पीडितहरुलाई तत्काल दुई लाखको पहिलो किस्ता दिनुपर्ने मागमा ५० हजार घटाएर १ लाख ५० हजार दिन मन्जुर गर्‍यो। निश्चय पनि, यो कांग्रेसको विजय थिएन। तर, संसदमा सरकारको पहिलो पराजय थियो।

यो पराजयलाई प्रधानमन्त्री केपी ओलीका समर्थक तथा अरु कांग्रेस विरोधीहरुले पनि सहज रुपमा लिन सकेनन्। उनीहरुका लागि भुईंचालो पीडितले केही राहत पाउनु खुशीको कुरा थिएन। तर, महा–मानवको तहमा उक्लिनै लागेका, ‘महान स्वप्नद्रष्टा’को नेतृत्वको सरकारले कांग्रेस जस्तो प्रतिक्रियावादी पार्टीसँग सम्झौता गर्नुपर्ने अवस्था आउनु दुःखको कुरा थियो। स्वयं प्रम ओलीले स्व. मदन भण्डारीको सम्झनामा आयोजित समारोहमा भाषण गर्दा स्व.भण्डारीको योगदानको स्मृति भन्दा बढी ‘बेइमान’ कांग्रेसलाई नै सम्झिएका थिए।

यी कुराहरु ‘रेगुलर’ हुन्। रेगुलर अर्थात् नेपाल गरीब देश हो भन्नु र गाई एउटा चारखुट्टे जनावर हो भन्नु दुवै उस्तै कुरा हुन्। नेपाल अलिअलि गरीब हुँदा पनि गाई चारखुट्टे जनावर नै थियो। अहिले धेरै नै गरीब भएको छ र पनि गाई चारखुट्टे जनावर नै छ। साठी वर्षअघिको पाठ्यक्रमसँग अहिलेको पाठ्यक्रमको तुलना गरेर हेरे हुन्छ गाईको परिभाषामा कुनै अन्तर छैन। यत्ति हो कि हिजो सानो कक्षामा पढाइने परिभाषा अहिले ठूलो कक्षामा पढाइन्छ।

संसदीय राजनीतिमा यस्तो ‘रेगुलर’ हुँदै गर्दछ।

नेपाल गरीब देश भएपनि यहाँ ‘कुवेरतन्त्र’ अर्थात् प्लुटोक्रेसी चलेको छ। सरुभक्त श्रेष्ठको ‘इदमित्थम’ नाटकमा सुनील पोखरेलले एउटा संवाद बोलेका छन्, ‘लोकतन्त्रको सौता गणतन्त्र।’ कुवेरतन्त्रलाई लोकतन्त्रको ‘झडकेलो बाबु’ भन्न सकिन्छ। शासकका रुपमा जनताद्वारा चुनिएका नेताहरुले झडकेलो बाबुलाई आफनो बाबुकै रुपमा राखेका छन्। यहाँका ‘रेगुलर’ शासकहरु धनी छैनन्। सामान्य खेतीपाती गरेर ज्यान पाल्ने किसानका छोरा कोही पढदा–पढदै राजाको विरोध गरेको अभियोगमा जेल परेर, कोही पढन नसकेर, कोही अन्य व्यवसायमा टिक्न नसकेर राजनीतिमा लागेका छन्। यी मध्ये धेरैको व्यक्तिगत महत्वाकांक्षाले पाँच सात करोड रुपैयाँ भन्दा बढीको सीमा नाघ्दैन होला।

ह्विस्कीको लोभ र धनको लोभ समान प्रकारको हुन्छ। ह्विस्की दुई पेग पिउनेले तेस्रो र चौथो पेग खोजेजस्तै चार–पाँच करोड रुपैयाँ कमाउनेले आठ–दश करोड कमाउन त खोजी हाल्दछ। चरी र घैंटेको घाँटीसँग हाम्रा पपुलर जन–नेताहरुको घाँटी जोडिने प्रमुख कारण पनि यही हो। कुवेरतन्त्रको भृत्यको भूमिकामा रहेका हाम्रा यी शासकहरुमा धनको लोभ त भै हाल्ने भो। त्यो भन्दा ठूलो लोभ हुन्छ ठस्साको। त्यो ठस्सा अब मानसिकता बनिसकेको छ। एउटा संवादको क्रममा डा. पिताम्वर शर्माले यो ठस्साको चर्चा गर्दै भन्नु भएको थियो, ‘कुनै पनि सार्वजनिक समारोहमा हाम्रा शासकहरुको पछाडि सुरक्षाकर्मीहरु लाइन लागेर उभिएका हुन्छन्। तपाईंले टेलिभिजनमा कतै अमेरिकाका शासक सार्वजनिक समारोहमा सहभागी भएका बेला त्यसरी सुरक्षाकर्मी उभिएको देख्नु भएको छ ? यो एक प्रकारको मानसिकता हो।’

 हो, हाम्रो जस्तो ग्रामीण समाजमा यो ठस्सा हो। बच्चाहरु रमाउँदै भन्छन, ‘उ, देखिस्, हाम्रा ठूला बाका पछिपछि कति धेरै सेना छन्। कति वाकीटकीवाला छन्। कति पुलिस छन्।’

हेर्दा साह्रै साहसी र दृढताका प्रतिमूर्ति देखिने हाम्रा शासकहरु आत्माले साह्रै कायर छन्। पुष्पकमल दाहालमा रुपान्तरित भै सकेपछिका प्रचण्डलाई नै हेर्नुहोस्। देशको राजनीतिक परिस्थितिलाई हेरेर उनी तय भएको कार्यक्रममा भाग लिन अष्ट्रेलिया भ्रमणमा गएनन्। के थियो त त्यस्तो परिस्थिति देशमा? राजनीति जतिसुकै संयोगको खेल भए पनि केही समय सत्ता उल्टिनेवाला थिएन। प्रचण्ड डराएका थिए  विदेशी भूमिमा विदेशी पुलिसले पक्डिएला भन्ने डर पसेको थियो उनको मनमा। आखिर भ्रमणकै प्रसंगमा अष्ट्रेलियाका राजदूतले उनलाई भेटेपछि रहस्य त खुलिहाल्यो। उनी डराउनुपर्ने कुनै वातावरण थिएन अष्ट्रेलियामा। हो, उनलाई डर छ। त्यो डर विदेशमा होइन यही देशमा छ। वृहत् शान्ति सम्झौता भएका समयमा प्रचण्ड परिवर्तनका संवाहक बन्नसक्ने सम्भावना देखिएको थियो। त्यो सम्भावना तुहियो। उनी कमजोर भएपछि देशभित्रका धेरै मानव–अधिकारवादीहरु, जो उनको योगदानको चर्चा गरेर थाक्दैनथे, उनलाई सशस्त्र आन्दोलनताका भएका हिंसा र हत्याको अभियुक्त बनाउने अभियानमा लागेका छन्। यो कसैबाट लुकेको विषय होइन।

कुवेरतन्त्रमा हाम्रा नेताहरु जे पनि बोल्न र जे पनि गर्न सक्दछन्। सपना देख्न सक्दछन्। गमलामा धान रोप्न सक्दछन्। ‘डेलिभरी’ मात्र गर्न सक्दैनन्। सरकार भुईंचालो–पीडितलाई विश्ववैंकको मापदण्ड विपरित राहत दिन सक्दैन। विश्व बैँक त कुवेरतन्त्रको एउटा रोवोट हो। उसलाई के मतलव जनताको टाउकोमा छानो छ कि छैन? संसदको अवरोध हट्नासाथ बैँकले भनी सक्यो हामी किस्ताबन्दीमा पैसा दिन सक्दैनौं। यहाँनिर प्रम ओली र कांग्रेस सांसद डा रामशरण महतका बीच अलिकति पनि वैचारिक भिन्नता छैन। नेपाल सरकार विश्ववैंकको मातहतमा चल्ने त पक्कै होइन। भुईंचालो पीडितलाई डेढ लाख रुपियाँ एकमुष्ट उपलव्ध नगराए अहिलेको महंगीमा पीडितले सामान्य घर समेत बनाउन सक्दैन।

पीडितहरुको उद्धारमा विश्व बैँक अवरोधक किन बन्नु? अहिलेसम्म बैँकले चलाएका कुन चाहीं योजना प्रभावकारी देखिएका छन्? बैँकले रकमको सदुपयोग भए नभएको अनुगमन गरे भै हाल्यो। मुख्य कुरा दाताले दिएको पैसा दुरुपयोग नहोस् भन्ने हो। त्यो त अहिले पनि विभिन्न शीर्षकमा दुरुपयोग भै रहेकै छ। दाताका गाडी अनियन्त्रित गुडेकै छन्। भुईंचालो पीडितले राहत पो पाएका छैनन् त। विभिन्न रंग र रुपका कर्मचारी र कार्यकर्ताले भत्ता पाएकै छन्। किस्ताबन्दीको कुरा उठाएर विश्व बैँकले मानवीय समस्याको समाधानमा अडंगा लगाउने हो भने गरीव देशहरु त्यसको सदस्य हुनुको तुक नै के रहन्छ र?

साँच्चै प्लुटोक्रेसी टाउकामा चढेको छ हाम्रो डेमोक्रेसीको। गरीब देशमा यस्ता कुरा ‘रेगुलर’ हुन्। दुःख यति मात्रै कि हाम्रा शासक न प्लुटोक्य्राट भए न डेमोक्य्राट। ती दास भए। कुवेरतन्त्रका दासहरु जब ‘राष्ट्रिय स्वाभिमान’ र ‘आत्म–सम्मान’ को कुरा गर्छन् त्यो पटक्कै सुहाउँदैन। हामी उसै पनि दुःखी नेपाली। जसले जे भन्छ त्यही पत्याउँछौ। प्रम ओलीले रेल र पानी जहाज आउने कुरा गरे। हामीले पत्यायौं। त्यो रेल र पानी जहाजले हाम्रो गरीवी कसरी निवारण गर्छ? हामीले सोधेनौं। प्रश्न गर्न नसक्नु नै हाम्रो नियति हो। जबसम्म प्रश्न गरिंदैन तबसम्म लोकतन्त्रको टाउकोबाट कुबेरतन्त्र ओर्लिदैन।

सामाजिक संजालमा कसैले सर्पको फोटो टाँसेर लेखेको हुन्छ, ‘यो तस्वीर देख्नासाथ लाइक गरेर दशजनालाई शेयर गर्नु होस्। तपाईंको भाग्यको ताल्चा खुल्छ। त्यत्तिकै छोडनु भयो भने भन्न सकिन्न कुन दुर्दशामा फँस्नु हुन्छ ।’

हामी लुसुक्क लाइक गर्छौ र दश होइन, बीसजना लाई शेयर गर्दछौं। जय जय जय नागराज।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell