
काठमाडौँ : मनसुन सक्रिय भएपछि बिहीबारदेखि देशभर अविरल वर्षा भइरहेको छ। भारी वर्षाका कारण बाढी, पहिरो डुबानले जनजीवन प्रभावित बनेको छ।
बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण मुलुकभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढीपहिरोसँगै बढीजसो भूकम्पपीडित वर्षाका कारण समस्यामा परेका छन्। १५ महिनादेखि पाल र अस्थायी टहरामा दिन गुजारिरहेका उनीहरुलाई बासको समस्यास छ।
यस्तै मनसुन सक्रिए भएसँगै मौसममा बदलाव आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएका छन्। त्रिभुवन विमानस्थलमा आउने अन्तर्राष्ट्रिय विमान अवतरण गर्न नसकेपछि अन्यत्रै मोडिएको विमानस्थलले जनाएको छ।
सडकमा पहिरो खस्दा कतिपय सडक खण्ड अवरुद्ध भएका छन्। यातायात सञ्चालनमा पनि अवरोध उत्पन्न भएको छ। मुग्लिन-नारायण सडक खण्डमा पनि पटक-पटक झर्ने पहिरोका कारण यात्रुहरु समस्यमा परेका छन्। बिहान केही घन्टा सडक सुचारु गराइए पनि पुन: ठाउँठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको छ।
उता, पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध छ। बैतडीको सतवाझदेखि दार्चुलाको गोकुलेश्वर सडकखण्ड अन्तर्गत पर्ने गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो। बागबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्ण रुपमा बन्द भएको ।
सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन्। कच्ची सडक भएर हिँड्नुपर्ने कतिपय ठाउँका यात्रु पहिरोको जोखिमले जान पाएका छैनन्।
वर्षा अझै जारी रहने
बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका मनसुन हिजोदेखि सक्रिय भएकाले अझ केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मुलुकभर नै वर्षा हुने तथा पूर्वी र पश्चिमी क्षेत्रका भने भारी वर्षा हुने महाशाखाको भनाइ छ।
शुक्रबार दिनभर वर्षा हुने र यो क्रम अझै केही दिनसम्म वर्षा जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले बताए।