PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

​माडीमा बाढी त्रास, नारायणगढ - मुग्लिङ सडकखण्ड खुल्न कठिन



पहिलोपोस्ट

​माडीमा बाढी त्रास, नारायणगढ - मुग्लिङ सडकखण्ड खुल्न कठिन

  • सरिता पौडेल -
माडी : चितवनको दक्षिणी भेग माडीमा बाढीको खतरा बढेको छ। गएरातिदेखिको अविरल वर्षासँगै खोलाको बहाब खतराको लेभल भन्दा बढी भएकाले जोखिम बढेको हो।  स्थानीय रिउ खोला, छरछरे खोला र कल्याणपुरमा पानीको बहाब ३.८ मिटर रहेकोले बाढीको उच्च जोखिम भएको हो। यदि खोलामा ३.४ मिटर भन्दामाथि पानीको बहाब जाने वित्तिकै खतराको संकेत हुन्छ। खतराको संकेत पनि नाघि सकेकाले माडीबासीलाई सचेत अवस्थामा रहन आग्रह गरिसकिएको जिल्ला विकास समितिका प्रकोप सम्पर्क व्यक्ति बलराम लुइटेलले जानकारी दिए। उनले त्यहाँ उद्दारका लागि जिल्लाको टोली बिहानदेखि नै अलर्ट अवस्थामा रहेको जानकारी दिए। उनका अनुसार अहिले माडीमा नगरस्तरीय दैवी प्रकोप उद्धार व्यवस्थापन समितिको बैठक समेत बस्दैछ।
 

जनजीवन प्रभावित

गएरातिदेखि परेको वर्षाका कारण दक्षिण चितवनको माडीको जनजिवन प्रभावित भएको छ। वर्षातको बेलामा धनजनको क्षति हुँदै आएको माडीमा बाढीले आज विहानैदेखि सडक अवरुद्ध बनाएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ। माडी नगरपालिकाको चिताई खोला पुल नजिकैको केही मिटर सडक नै बाढीले भत्काएको छ। माडीका रिउ नदीसँगै अन्य खहरे खोलाहरु मगुई, घाँगर, परुई, चिताई, बाँदरमुढे लगायतमा बाढी बढेको छ। माडी रुटमा सवारी चलाउने चितवन नारायणी यातायात उपसमितिका ईन्चार्ज सहदेव गुरुङकका अनुसार राति १ बजेदेखि परेको वर्षापछि अहिले बाढीले यहाँ सवारी आवागमन ठप्प बनाएको छ।

नारायणगढ मुग्लिङ दिनैभर नखुल्ने

गएरातिदेखि निरन्तर भएको वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न चार स्थानमा ठूला पहिरो खसेपछि आज दिनभर सडक सञ्चालन नहुने भएको छ। सडक खण्डको चार किलो, पाँच किलो, जलवीरे र भालुढुङ्गामा माथिबाट ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख बसन्त बहादुर कुँवरले जानकारी दिए।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने काम समेत हुन नसकेको उनले जानकारी दिए। पानी रोकिएमा पहिरो पन्छाउने काम सुरु हुने प्रहरीको भनाई छ। “बिहान ६ बजेबाट अवरुद्ध सडक ९ बजे केहीबेरका लागि खुलेको थियो,' प्रहरी प्रमुख कुवरले भने,  'पुनः पहिरो खस्न थालेपछि पहिरो पन्छाउन नसकिएको छैन।”

ठाउँ ठाउँमा पहिरो खसिरहेकाले सुरक्षित ठाउँमा बस्न वा वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्यतर्फ जान ट्राफिक प्रहरीले सबैमा आग्रह समेत गरेको छ। बिहानदेखि सडक अवरुद्ध बनेपछि सडकको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ। जोखिममा परेका यात्रु अलपत्र अवस्थामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell