PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कान्तिपुर गाथा : तिम्रो महिना कति विकको हुन्छ चार्ली?



किशोर नेपाल

कान्तिपुर गाथा : तिम्रो महिना कति विकको हुन्छ चार्ली?

उसको ओरिजिनल नाम ‘अनुभव’ भएपनि जिजुमुवाँले भन्न नजानेर सँधै ‘अनुभोग’ भनेर बोलाउँदा बोलाउँदै दाइले ‘मनभोग’ भनेर बोलाउन थाल्यो। दिदीले त्यही भन्न थाली। मामीले मायालु पाराले ‘मेरो स्वीट मनभोग’ भन्न थालिन्। स्कूलमा साथीहरुले त कति जिस्क्याए कति। सात क्लासमा उक्लिने बेलामा उसले क्लासटिचर रेवा मिसलाई चकलेट ट्रीट दिएर आफनो नाम चेन्ज गर्न लगाएको थियो। त्यो दिनबाट ऊ एबी थियो, एबी कार्की। एबीको अर्थ के हुन्छ? उसैलाई थाह थिएन। छोरोले नाम फेरेको थाह पाएपछि ड्याडीले हाँस्दै भनेका थिए, ‘यू सिल्ली किड।’

स्कूलमा ऊ नयाँ भर्ना भएका केटी साथीहरुसँग आफूलाई चिनाउँदै भन्थ्यो, ‘हि बेबी, आइएम सिम्प्ली एबी।’

सुनेर कनिका हाँस्थी। ऊ एबीले मात्रै बुझ्ने भाषामा बडो संगीतमय हिसावले गीत गाउँदै जिस्क्याउँथी, ‘मनभोग...मन।’

त्यसपछि कनिका छडके मार्थी। एबी रन्थनिन्थ्यो। कति पटक त नर्भस नै हुन्थ्यो, त्यो पनि केटीहरुको अगाडि। एकदिन त भर्खर स्कूल भर्ना भएकी प्रतिषाका अगाडि नै ऊ नर्भस भयो।

कनिकाले त्यो स्कूल छाडी र रोसेन्थेल स्कूलमा भर्ना भइ। आधा दर्जन केटाहरुसँगको संगतपछि उसको भेट चार्लीसँग भएको थियो। चार्ली विदेशतिर लागेपछि एक्लिएकी कनिका चार्ली फर्किने खबरले उत्साहित भएकी थिइ। उसका दैनिक गतिविधिहरु बाक्लिन थालेका थिए। त्यो दिन बिहान ऊ च्याटमा थिइ चार्लीसँग। चार्लीले भनेको थियो, ‘हो कनि, म फर्किँदैछु। ममको फोन आउँछ, दिनको चार पटक। तिम्रो याद आउँछ, दिनको आठपटक। बाबा बिरामी छ रे। अफिस जान पनि गाह्रो छ भन्थ्यो मम। अब दुई महिनामा कन्ट्रयाक्ट ब्रेक गर्छु।’

कनिकाले भनेकी थिइ, ‘तिमी त थ्री वीक्स अघि पनि दुई महिना भन्थ्यौ। अहिले पनि दुई महिना भन्छौ। तिम्रो दुई महिनामा वीक चाहीं कतिवटा हुन्छ? सीक्स कि नाइन?’

उसको कुरा सुनेर चार्ली हाँसेको थियो र फ्लाइङ किसगर्दै अफलाइन भएको थियो।

कनिका चार्ली फर्किन्छ भन्नेमा ढुक्क भएकी थिइ। उसले आफूलाई मनपर्ने शोर्टी र स्कर्ट निकाली। बिहान अपराले फोन गरेर शेर्पा मलमा कन्सर्टमा जाने भनेकी थिइ। कफी पसलमा भेटने प्रोग्राम थियो। समयभन्दा डेढ घण्टा अघि नै निस्किइ कनिका। चार्ली गएपछि सिगरेट र लंग व्ल्याकको तलतल लाग्न थालेको थियो उसलाई। ऊ सिगरेटको बट्टामा छापिएका स्मोकिंग विरोधी घीनलाग्दा दृश्य देखेर झस्किन्थी। तर पनि, कसरी हो कुन्नि, कन्भिन्स थिइ उ सिगरेट र लंग व्ल्याकको कम्विनेसन उसको लागि मेडिसिन नै हो।

ओहो, कफी पसल छिर्नै लाग्दा एबी र कनिकाको जम्का भेट भयो। एबीले भन्यो, ‘हाइ कनिका, लंग टाइम, हाउ यु ?’

‘मनभोग’ लाई देखेर कनिकालाई पनि रमाइलो लाग्यो, पुरानो साथी। उसले जवाफ दिइ, ‘मी गुड, फाइन, हेप्पी। बोली सकेपछि उसलाई लाग्यो क्या रिफाइन झुठ बोलियो। वास्तवमा ऊ न गुड थिइ, न फाइन र न हेप्पी। उसको अवस्था झरीमा रुझेको बिरालोको जस्तो थियो।

एवीले प्रस्ताव गर्यो, ‘इफ यू हायव टाइम लेटस टक ओभर अ ग्लास अफ स्मूदी। जस्ट टू रिकल।’

कनिकाले भनी, ‘स्योर, मनभोग।’

दुवै मज्जाले हाँसे र हाँस्दै कफी पसलमा उक्लिए।

कनिकाको स्टेप स्मोकिंग रुमतिर लम्कियो। एवीले भन्यो, ‘यता बस्ने ?’

कनिकाले जवाफ दिइ, ‘किन र ? एनी प्रोव्लेम एवी ?’

उनीहरु सीटमा सेटल भए। सर्भिस पर्सोनेल पानीको बोतल र ग्लास लिएर आयो। उसलाई कनिकाले लंग व्ल्याक मगाउने थाहा थियो। एवीले अर्डर गर्यो, ‘आइस्ड लात्ते।’

कनिकाले पर्सबाट सिगरेटको प्याकेट र लाइटर निकाली। प्याकेटबाट एउटा स्टीक निकाली र सल्काइ। एवी ट्वाँ परेर उसले उडाएको धुवाँ हेर्न थाल्यो।

केही नलागेपछि विस्तारै वोल्यो, ‘कनिका, यू स्मोक ?’

कनिकाले भनी, ‘एनी डाउट ? यू सीईंग। मी स्मोकिंग, राइट ?’

उसले मुखबाट धुवाँको एउटा गोलो मुस्लो निकाली र एवीतिर फ्याँकी।

एवी दंगदास भो। उसको लागि यो एउटा अर्को ‘नयाँ अनुभोग’ थियो।
  ​​(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा) 

यो सिरिजका अन्य गाथा- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell