PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

पहिरोबाट विस्थापित भएकाहरुको उद्धारमा खटियो सेना र सशस्त्रको टोली



रासस

भीमदत्तनगर : अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट दार्चुलामा सात घरपरिवार विस्थापित भएका छन्। दार्चुलामा अहिलेसम्म दुई जनाको पहिरोमा परी मृत्यु हुनुका साथै एक जना घाइते भएको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइँकेलले जानकारी दिए।

दुई दिनदेखिको वर्षाले विस्थापितको पूर्ण सङ्ख्या आइसकेको छैन। प्रहरीमा हालसम्म यहाँका विभिन्न स्थानका सात घरपरिवार पूर्णरुपमा विस्थापित भएको खबर आएको कुइँकेलले बताए। ‘विस्थापितलाई तत्कालका लागि राहत सामग्री पनि पढाएका छौं,’ उनले भने।  
 
बिहीबारदेखिको पहिरोका कारण अवरुद्ध बैतडी–दार्चुला सडकखण्डको अवरोध हटाउने कार्य पनि जारी रहेको छ।  
 
पहिरोको विस्थापित र जोखिम रहेका बस्तीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताइएको छ।
 
पहिरोकै कारण दार्चुलाको जौलजीवी प्रहरी चौकी भवनमा क्षति पुगेको छ। चौकीमा कार्यरत प्रहरी तथा बन्दोबस्तीका सामान सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
 
दार्चुलाको शङ्करपुर, ग्वानी, भगवती, दत्तु, डाँडाकोट, सर्माली, खरकडा, लाली, रिठाचौपाता, बोहरीगाउ, गोकुलेश्वर लगायतका गाविस पहिरोको चपेटामा परेको स्थानीय प्रशासनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell