PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

ढाका आक्रमण : २० जना विदेशी बन्धक पनि मारिए, सबै नेपाली सुरक्षित



पहिलोपोस्ट

ढाका आक्रमण : २० जना विदेशी बन्धक पनि मारिए, सबै नेपाली सुरक्षित

काठमाडौँ : ढाकाको कुटनीतिक क्षेत्रमा रहेको एउटा बेकरीमा शुक्रबार राति बन्दूकधारीहरुले गरेको आक्रमणपछि सेनाले गरेको अपरेसनका क्रममा २० जना बन्धक र दुई सुरक्षाकर्मीको मृत्यु भएको बंगलादेशको सेनाले जनाएको छ। 

बन्धक प्रकरण शनिबार बिहान बल्ल सकिएको थियो। ज्यान गुमाउने सबै बन्धकहरु विदेशी भएको भनिए पनि परिचय खुलाइएको छैन। 

आक्रमणकारीहरुले बन्दूक, विस्फोटक पदार्थ र घरेलु हतियार प्रयोग गरेको बंगलादेशी सेनाका ब्रिगेडियर जनरल नइम अस्फाक चौधरीले बताए। 

बन्धकहरुको शव बन्धक प्रकरण सकिएपछि बल्ल फेला परेको थियो। अपरेसनका क्रममा ६ जना बन्दूकधारीहरुको पनि ज्यान गएको छ। एक जनालाई भने जिउँदै पक्राउ गरिएको छ। 

सेनाले १३ जना बन्धकको उद्दार गरेको थियो जसमध्ये एक जापानी नागरिक र दुई श्रीलंकाका नागरिक छन्। (फोटो : एपी)

यसरी भयो आक्रमण

प्रत्यक्षदर्शीहरुलाई उद्‍धृत गर्दै सिएनएनले जनाए अनुसार होली आर्टिसन बेकरीमा शुक्रबार साँझ एक्कासी ६ देखि ८ जना बन्दूकधारी प्रवेश गरेका थिए। उनीहरु हावामा बन्दूक पड्काउँदै भित्र छिरेका थिए। सुरुमा उनीहरुले कसैलाई गोली हानेका वा पिटेका थिएनन्। 

क्याफेका ग्राहकहरु सबै कुर्सी र टेबलमुनि सुतेका थिए। यही क्रममा कोही भाग्न भ्याए। कोही छततिर लागे कोही अर्कैतिर। 

एकैछिनमा उनीहरुले विस्फोटक पदार्थहरु एकपछि अर्को गर्दै फ्याँक्न थाले। 

अल्लाहु अकबर भन्दै उनीहरुले पुलिसहरुमाथि गोली चलाउन र विस्फोटक पदार्थ फ्याँक्न थाले। 

नेपाली सुरक्षित

आक्रमण भएको ठाउँ नेपाली दूतावासभन्दा करिब एक किलोमिटर टाढा भए पनि ढाकामा रहेका सबै नेपाली सुरक्षित रहेको र आक्रमणका क्रममा कुनै नेपाली सो ठाउँमा रहेको रिपोर्ट प्राप्त नभएको दूतावासका चार्ज डे अफेयर्स सुशील लम्सालले पहिलोपोस्टलाई बताए।

उनका अनुसार नेपाली दूतावासले घटनालाई नजिक रहेर अनुगमन गरिरहेको छ।  

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell