
'फुटबल साधारण खेल हो। २२ जना खेलाडी ९० मिनेटसम्म एउटा बलको पछि कुद्छन् र अन्त्यमा जर्मनीले सधैं जित्छ,' इंगल्याण्डका पूर्व स्टार ग्यारी लिनेकरले भनेका छन्, 'तर जब इटली र जर्मनीबीच ठूला प्रतियोगितमा भएका खेलको कुरा आउँछ, यो गलत साबित हुन्छ।
कम्पिटेटिभ टुर्नामेन्टमा जर्मनीविरुद्ध इटली अपराजित छ। विश्वकप र युरो गरी अहिलेसम्म भएको ८ भेटमा इटलीले ४ खेल जितेको छ भने ४ खेल बराबरीमा सकिएका छन्।
युरोकपमा भएको चारै खेलमा इटली अपराजित छ। विश्व फुटबलमा जर्मनी सर्वाधिक सफल राष्ट्रमध्ये एकमा पर्छ। विश्वकप र युरोकप दुवैमा सर्वाधिक पटक फाइनल पुग्ने रेकर्ड जर्मनीको नाममा छ। तर इटलीविरुद्ध भने जर्मनी सधैं कमजोर बन्दै आएको छ।
पछिल्लो पटक सन् २०१२ मा इटलीले जर्मनीलाई सेमिफाइनलमा हराएको थियो।
फ्रान्समा जारी युरो २०१६ अन्तर्गत तेस्रो क्वाटरफाइनल खेलमा दुई पारम्पारिक प्रतिद्वन्दी जर्मनी र इटली भिड्दैछन्। जर्मनी अपराजित छ भने अहिलेसम्म कुनै गोल खाएको छैन। समूह चरणका दुई जित र एक बराबरी नतिजा निकालेको जर्मनीले प्रिक्वाटरफाइनलमा स्लोभाकियालाई ३-० ले पराजित गरेको थियो।
यता ग्रुप अफ डेथमा परेर पनि समूह विजेता बनेको इटलीले डिफेन्डिङ च्याम्पियन स्पेनलाई प्रिक्वाटरफाइनलमा हराएको थियो।
यी दुई पूर्व विजेताबीचको भिडन्तलाई विश्वका उत्कृष्ट दुई डिफेन्सबीचको भिडन्तका रुपमा पनि लिन सकिन्छ। जारी युरोमा दुवै टीमको डिफेन्सले गज्जबको प्रदर्शन गरिरहेको छ। जर्मनीका डिफेन्डरले अहिलेसम्म गोल हुन दिएका छैनन् भने इटलीले समूह चरणको अन्तिम खेलमा आयरल्याण्डविरुद्ध एक मात्र गोल खाएको थियो।
जर्मनी स्पेनसँगै तीन पटकको युरो च्याम्पियन हो भने इटली एक पटकको च्याम्पियन। विश्व विजेताको हैसियतमा फ्रान्स पुगेको जर्मनीलाई उपाधिको दाबेदारको रुपमा हेरिए पनि इटलीलाई कसैले उपाधिको दाबेदार टोली मानेको थिएन। तर क्वाटरफाइनलसम्म आइपुग्दा इटलीले जुन खालको प्रदर्शन गरेको छ, फुटबल पण्डितहरुले भन्न थालेका छन् कि इटली पनि अब उपाधिको दाबेदार हो।
प्रिक्वाटरफाइनलमा स्पेनलाई हराउँदै क्वाटरफाइनलमा पुगेको इटली र जर्मनी बीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
इटलीका एन्टोनिया कान्ड्रेभा चोटका कारण जर्मनीविरुद्ध खेल्न सक्ने छैनन् भने ड्यानियल डे रोसी पनि खेल्ने सम्भावना कम रहेको छ। यस्तै थियागो मोट्टाले दुई पहेँलो कार्ड खाएका कारण जर्मनीविरुद्ध खेल्न पाउनेछैनन्। जसले गर्दा स्टेफानो स्टुरारोले मिडफिल्डमा पहिलो रोजाइमा खेल्ने सम्भावना छ।
यता जर्मनीको टोली भने पूर्ण रुपमा फिट रहेको छ। जेरोम बोएटेङ, युलियन ड्राक्सलर र सामी खेडिरा पनि चोटबाट मुक्त भएका छन्।
इतिहासमा जर्मनीविरुद्ध इटली हाबी भएको छ। अहिलेसम्म भएको ३३ खेलमा इटलीले १५ खेलमा जित हात पारेको छ भने जर्मनीले ८ खेल मात्र जितेको छ। बाँकी १० खेल बराबरीमै सकिएका छन्।
गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा भने जर्मनीले इटलीलाई ४–१ ले हराएको थियो।

खेल हुने समय : मध्यरात १२:४५ बजे
खेल हुने स्थान : स्टेड डे बोर्डे, बोर्डे
हेर्नलायक खेलाडी : जेरोम बोएटेङ-जर्मनी, ग्राजियानो पेल्ले-इटली
हेड टु हेड : जर्मनी ८, इटली १५, बराबरी १०
रेफ्री : भिक्टोर कसाई, हंगेरी
युरो सहभागिता : जर्मनी १२, इटली ९
फिफा वरियता : जर्मनी ४, इटली १२
मुख्य उपलब्धि : जर्मनी विजेता सन् १९७२, १९८०, १९९६
इटली विजेता : सन् १९६८