बनेपा : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले विपक्षी दलसँग कुनै सल्लाह नगरेको गुनासो गरेका छन्।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको भवन शिलान्यासपछि आज बनेपामा आयोजित कार्यक्रममा उनले सरकार मनपरी ढङ्गले अघि बढेको आरोप लगाए।
सभापति देउवाले संविधानको कार्यान्वयन र भूकम्प पीडितलाई बसोबासको व्यवस्था गर्ने चुनौती कांग्रेसको काँधमा आएको उल्लेख गर्दै हिउँद र वर्षासमेत सकिन लाग्दा भूकम्प पीडितको पक्षमा सरकारले कुनै काम गर्न नसकेको बताए। उनले भने – “भूकम्प पीडित जुनसुकै पार्टीका हुन् तर कसैको नाम छुट्नु हुँदैन र भूकम्प पीडितमाथि जुन जिल्लामा अन्याय हुन्छ त्यस्ता जिल्लामा जुलुस र विरोध पनि गर्न जरुरी छ।
नेता देउवाले नेकपा (एमाले)ले नै स्थानीय चुनाव गर्न नचाहेको आरोप लगाउँदै राज्य पुनःसंरचना आयोगको रिपोर्ट आगामी साउन, भदौमा नै आउनुपर्ने बताए।
उनले प्रान्तीय चुनावलगायतका विभिन्न चुनावका विषयमा समेत सरकारले कुनै तयारी नगरेको भन्दै संविधान कार्यान्वयन नभए फेरि मुलुक अप्ठेरोमा पर्छ भने।
नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले प्रधानमन्त्री केपी ओलीलाई भूकम्प पीडित जस्तै एक दिन पालमा बसेर अनुभव गर्न आग्रह गरिन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अस्थिर राजनीति भए पनि अर्थतन्त्र टिकेको भन्दै नेपाली कांग्रेसको दर्शनमा नै कम्युनिस्ट पार्टीहरु अघि बढेको जिकिर गरे।
सो कार्यक्रममा सांसदद्वय कञ्चनचन्द्र वादे, तीर्थ लामा, पूर्व सांसद शिवप्रसाद हुमागार्इं, नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, उपाध्यक्ष अच्युत पौडेललगायतले सरकारको आलोचना गर्दै भूकम्प पीडितलाई शीघ्र राहत उपलब्ध गराउन आग्रह गरे।
सात आना तीन पैसा एक दाम जग्गामा रु तीन करोडको लागतमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आफ्नो भवन निर्माण गर्न लागेको हो। रासस