PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कांग्रेसकै शर्त अनुसार सरकार फेर्ने निर्णय पार्टीबाटै गराए प्रचण्डले



रमेश वाग्ले

काठमाडौँ : नेकपा माओवादी केन्द्रको आज सकिएको केन्द्रीय कार्यालय बैठकले सरकार परिवर्तन गर्ने र त्यसका लागि छलफल र पहलको सम्पूर्ण जिम्मा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकार स्थानीय प्रादेशिक र संघीय चुनाव गराएर मात्र यो सरकारले विश्राम लिने कुरा पटक पटक दोहोर्‍याइरहेका छन्। तर उनको प्रमुख सहयोगी बनेर बसेको नेकपा माओवादी केन्द्रले किन सत्ताको विकल्प खोजिरहेको छ त?

त्यसो त गत वैशाखमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ति नै निकालेर आफ्नै नेतृत्वको सरकार बनाउन समर्थन गर्न आह्वान गरेका थिए। त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको ड्राफ्टसमेत बनेपछि हस्ताक्षरका समयमा मात्र अचानक 'यु टर्न' भएपछि सत्ता गठबन्धनले निरन्तरता पाएको थियो।

एमालेसित माओवादीले नौ बुँदे लिखित र बजेटपछि सरकार फेर्ने भद्र सहमति गरेको थियो। तर भद्र सहमति हुँदै नभएको भनी प्रधानमन्त्री ओलीले जिकिर गरिसकेका छन् भने लिखित सहमति पनि लागू हुन सकेको छैन।

यही पृष्ठभूमिमा प्रचण्डले विगतमा गल्ती भएको भन्दै पुनः वर्तमान सरकारको विकल्पका लागि वार्ता थालेका थिए।

प्रमुख प्रतिपक्षले क्रियाशीलता लिएर वर्तमान सरकारको विकल्प छिटो भन्दा छिटो दिनु पर्ने सन्देशसहित आफ्ना प्रतिनिधिहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पठाए पनि देउवाले त्यसलाई वास्ता भने गरेका थिएनन्। उनले माओवादीलाई साँच्चै सरकार नचाहिएको हो भने पार्टीबाटै निर्णय गरेर आउन सन्देश दिएका थिए।

प्रचण्डले कांग्रेसभित्र उनीसँग राम्रो सम्बन्ध भएकादेखि सभापति शेरबहादुर देउवा र देउवाको राम्रो सम्बन्ध भएका नेताहरुलाई कुराकानी आफै पनि गरिरहेका छन् भने विगतमा वार्ताका लागि प्रयोग गरेका नेताहरुलाई पनि परिचालित गरिरहेका छन्। तर सत्ता परिवर्तनका लागि अग्रसरता लिने कांग्रेसले नै उनलाई विश्वास नगर्दा सत्ता परिवर्तनको उनको प्रयास सार्थक बनिरहेको थिएन।
 
कांग्रेस नेता डा. प्रकाशरण महतले एमाओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव ल्याएकै आधारमा विश्वास गर्न नसकिने बताए। 'हिजो आफैले प्रस्ताव गरेर धोका दिनुभएको छ' डा महतले भने, 'अब कि त उहाँले पार्टीबाट निर्णय गरेर हामीसँग वार्तामा आउनुपर्‍यो कि त सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउनुपर्‍यो। हैन भने भनेकै भरमा उहाँलाई विश्वास गर्न सकिने अवस्था छैन।'

यही पृष्ठभूमिमा माओवादीले पार्टीगत रुपमा नै सरकार परिवर्तनको लागि औपचारिक निर्णय गरेको हो।

तर के यसले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निश्चित हुन्छ त? 'प्रधानमन्त्री कसलाई दिने नदिने भनेर अहिले नै भन्न सकिँदैन' महतले भने, 'परिस्थिति हेरेर हामीले निर्णय गर्ने हो।'

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बजेट पास भएपछि सरकारको नेतृत्व माओवादीलाई दिने सहमति एमालेसँग भएकोले पहिले एमालेसित त्यो सहमति कार्यान्वयन गराउन पहल गरिने बताएकी छन्। 'त्यसपछि बाहिरको पनि सहमति खोज्ने काम हुन्छ', उनले पत्रकार सम्मेलनमा भनिन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell