
अन्तत ५४ वर्षपछि ठुला फुटबल प्रतियोगितामा जर्मनीले इटलीमाथि जित हात पारेको छ। फ्रान्समा जारी युरो २०१६ अन्तर्गत क्वाटरफाइनलमा इटलीलाई पेनाल्टीसुटआउटमा ६–५ ले पराजित गर्दै जर्मनी सेमिफाइनलमा पुगेको हो।
कुनै पनि ठुला प्रतियोगितामा जर्मनी सेमिफाइनल पुगेको यो लगातार छैटौं पटक हो भने युरोकपमा लगातार तेस्रो पटक हो।
यता इटलीको हारमा भने ९ अंकको अनौठो संयोग बनेको छ। जर्मनीले पछिल्ला ८ कम्पिटेटिभ खेलमा इटलीलाई हराउन सकेको थिएन।
नवौ खेलमा आएर जित हासिल गरेको छ। सबैखाले खेलमा गरेर जर्मनीके इटलीमाथि यो नवौ जित हो। यस्तै पेनाल्टीसुटआउटमा इटलीको हारमा पनि नवौं पेनाल्टी प्रहार निर्णायक रह्यो।
कुल १८ पेनाल्टीको प्रहार भएको खेलमा दुवै टोलीले ९/९ पेनाल्टी प्रहार गरे। इटलीको लागि माटियो डार्मिनले प्रहार गरेको नवौ पेनाल्टी जर्मनीका गोलरक्षक मानुएल नोएले सेभ गरे भने जर्मनीका लागि नवौ नम्वरमा पेनाल्टी प्रहार गरेका जोनास हेक्टरले विजयी गोल गरे।
बोर्डेमा भएको तेस्रो क्वाटरफाइनलमा अन्तर्गत जर्मनी र इटली बीच निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट लिइएको थियो।
खेलको ६५ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर ७८ औं मिनेटमा जर्मनीका जेरोम बोएटेङले डि एरिया भित्र ह्याण्ड गरेपनि इटली पेनाल्टी प्राप्त गर्यो। जसमा लियोनाद्रो बोनुचीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि निर्धारित र थपिएको समयमा कुनै गोल हुन सकेन।
पेनाल्टी सुटआउट अन्तर्गत सुरुवाती पाँच प्रहारमा दुवै टोलीले २–२ गोल गरे।
जर्मनीका टोनी क्रुस र युलियन ड्राक्सलले गोल गर्दा थोमस मुलर, मेसुट ओजिल र कप्तान बास्टिन स्वाइन्स्टाइगर गोल गर्न असफल बनेका थिए।
यस्तै इटलीका तर्फबाट लरेन्ज इनसिग्ने र आन्द्रे बार्जालीले गोल गरे भने सिमोन जाजा, ग्राजियानो पेल्ले र लियोनाद्रो बोनुची पेनाल्टीमा गोल गर्न चुके।
त्यसपछि खेल सडनडेथतर्फ मोडियो। जसमा दुवै टोली तीन खेलाडीले गोल गरे। जर्मनीका माट्स हुेम्मेल्स, जोसुअ किमिक र जेरोम बोएटेङले गोल गरे भने इटलीका इमानुएल गिचेरिनी, मार्को पारोलो र माटिअ डे सिग्लियोले गोल गरे।
त्यसपछि नवौ नम्वरमा पेनाल्टी प्रहार गर्न आएका इटलीका माटियो डार्मिनको प्रहार जर्मनीका मानुएल नोएले बचाउ गरे। तर जर्मनीका जोनास हेक्टर चुकेनन् र उनले पेनाल्टीमा गोल गर्दै विश्वविजेता जर्मनीलाई ६–५ को जित दिलाए।
जितसँगै जर्मनीले सन् २०१२ को युरो सेमिफाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ। तेतीखेल जर्मनी इटलीसँग २–१ ले पराजित भएको थियो।
जर्मनीले अब फाइनल प्रवेशका लागि आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासँग खेल्नेछ।