
'हामीले एउटा पक्ष त लिनै पर्छ। सन्तुलनमा बस्नाले पीडकलाई सघाउँछ, पीडितलाई होइन। मौनताले दोषीलाई प्रोत्साहित गर्छ, दु:खीलाई होइन'
धेरैले यो भनाई सुनेको या पढेको हुनुपर्छ। यो भनाई हो इलाई वेसलको जसको हिजो निधन भयो। नोबेल शान्ति पुरस्कार विजेता विसेल 'प्रलयमा जिवित' मानिसका रुपमा चिनिन्छन् जसको क्लासिक 'नाइट' ले नाजीहरुको अपराधजन्य कदमलाई स्थापित गर्न भूमिका खेल्यो।
मानवताविरोधी गतिविधिका एक प्रत्यक्षदर्शीका रुपमा पनि उनलाई चिनिन्छ। फोक्सोको क्यान्सरका कारण उनको ८७ वर्षको उमेरमा निधन भएको हो।
इज्राइलको यद वासेम होलोकाउस्ट मेमोरियलले उनको मृत्युको सार्वजनिक गरे पनि थप विवरण दिएको छैन।
सन् १९८६ मा नोबेल पुरस्कार स्वीकार्दै उनले भनेका थिए, 'जब कुनै समयमा अथवा स्थानमा मानिसहरु प्रताडित हुन्छन् र मानवतामाथि प्रहार हुन्छ- पक्ष लिउ। सन्तुलनमा बस्नाले पीडकलाई सघाउँछ, पीडितलाई होइन। मौनताले दोषीलाई प्रोत्साहित गर्छ, दु:खीलाई होइन।'
अमेरिकी राष्ट्रपति बाराक ओवामाले उनको मृत्युपछि भनेका छन्, 'लेखकका रुपमा, वक्ताकै रुपमा, अभियन्ता र विश्लेषकका हिसाबमा उनले शक्तिमा आएका ठूला नेताहरुले भन्दा धेरै परिवर्तन ल्याउने भूमिका खेलेका छन्। उनको जीवन र शक्तिले हामीलाई राम्रो हुन प्रेरित गर्छ।'
उनले ४० भन्दा धेरै पुस्तक लेखेका छन् तर सबैभन्दा धेरै प्रभावकारी रह्यो 'नाइट'। हिटलरको शासनमा खडा गरिएको कन्सर्नट्रेसन क्याम्पमा आधारित छ यो पुस्तक।