
इटलीलाई पेनाल्टीसुटआउटमा ६–५ ले पराजित गर्दै जर्मनी फ्रान्समा चलिरहेको युरोकप २०१६ को सेमिफाइनलमा पुगेको छ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ विश्व विजेता जर्मन भाग्यमानी मात्र बनेन मुख्य प्रतियोगितामा इटलीलाई पहिलो पटक हराउन सफल भयो।
जर्मनी र इटली बीचको खेलमा कुल १९ पेनाल्टी प्रहार भए। १८ पेनाल्टी पेनाल्टी सुटआउटमा प्रहार भए भने एक पेनाल्टी निर्धारित समयको खेल अवधीमा।
उक्त खेलमा दुई पेनाल्टी प्रहार गर्ने अवसर इटलीका लियानाद्रो बोनुचीले पाएका थिए। बोनुचीले खेल अवधीमा र पेनाल्टी सुटआउटमा एक एक पेनाल्टी प्रहार गरे। तर अन्त्यमा ती दुई पेनाल्टी उनका लागि कथा जस्तै भयो।
निर्धारित समयको खेलमा १–० ले पछि परेको अवस्थामा बोनुचीले नै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। जर्मनीका जेरोम बोएटेङले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि इटलीले पेनाल्टी प्राप्त गरेको थियो र त्यसैमा बोनुचीले गोल गरे।
बोनुचीले यसअघि पेनाल्टीसुटआउट बाहेक अन्य अवस्थामा पेनाल्टी प्रहार गरेका थिएन्। तर यसपटक एक गोलले पछि परेको अवस्थामा उनैले गोल गर्दै इटलीलाई खेलमा फर्काएका थिए।
जारी प्रतियोगितामा प्रिक्वाटर फाइनलसम्म गोल नखाएको जर्मन किपर मानुएल नोएले खेल अवधी बेहोरेको त्यो नै एक मात्र गोल बन्यो।
तर इटलीका र बोनुचीका लागि पहिलो पेनाल्टीले जति खुसी दिन सक्यो त्यति नै पीडा उनले प्रहार गरेको दोस्रो पेनाल्टीले दियो।
पेनाल्टी सुटआउटमा बोनुचीले इटलीका लागि पाँचौ पेनाल्टी प्रहार गरेका थिए। यतिखेर खेल जर्मनी र इटलीको २–२ गोल मात्र भएको थियो भने समान दुई पेनाल्टी खेर गएको थियो। मानुएल नोए विरुद्ध पहिलो पेनाल्टीमा गोल गरेका बोनुची दोस्रो पेनाल्टी प्रहार गर्दा नोएलाई बिट गर्न असफल भए। नोएले बोनुचीको पेनाल्टी सहजै बचाउ गरे।
निर्धारित समयमा जब मैले पेनाल्टी प्रहार गरे नोए सुरु देखि अन्त्यसम्म दायाँ भागमै उभिरहे, बोनुचीले खेल पछि भन, 'मैले दोस्रो पेनाल्टीमा अझ राम्रो गर्न सक्थेँ तर नोए मलाई राम्रोसँग बुझ्न सफल भए।'