PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यी हुन् नेपालका १३ 'मोस्ट वान्टेड' अपराधी, जो रेड कर्नर नोटिसमा छन्



सविन ढकाल

यी हुन् नेपालका १३ 'मोस्ट वान्टेड' अपराधी, जो रेड कर्नर नोटिसमा छन्

काठमाडौं : विभिन्न गम्भीर घटना घटाएर फरार भएका अपराधीको नाम जारी गर्नु नै रेडर्कर नोटिस हो। अहिले यस्ता अपराधीको सङ्ख्या बढ्दै गएको देखिन्छ। नेपाल प्रहरीले अहिले १३ जना नेपाली र २ जना विदेशीलाई रेडकर्नर नोटिसमा राखेको छ। यसरी नोटिसमा पर्ने अधिकांश ठगी प्रवृत्तिका मुद्दामा समावेश भएको देखिन्छ।

'हामीले खोजीकार्य तीब्र बनाएका छौं। कतिको त नजिक पनि पुगिसकेका छौं,' नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव निरीक्षक माधवप्रसाद जोशीले भने।


यी हुन् रेड नोटिसमा रहेकाहरु

१ भुपेन्द्र खड्का

काठमाडौं वडा नम्बर २२ मा  बस्ने भुपेन्द्र खड्का विगत ९ वर्षदेखि फरार छन् । उनले ६ जनाभन्दा बढी व्यक्तिलाई विदेश पठाइदिने भन्दै करिब ४ करोड ५० लाखभन्दा बढी रकम लिएको उजुरी परेको छ।

२ भक्तबहादुर लामा

नुवाकोट घर भएका भक्तबहादुर प्रहरीको रेडकर्नर नोटिसमा पर्ने अर्का 'अपराधी' हुन् । उनले पनि भुपेन्द्र जस्तै विभिन्न व्यक्तिलाई विदेश पठाइदिने भन्दै २ करोड १० लाखभन्दा बढी लिएको खुल्न आएको छ। उनी पनि सन् २००७ देखि प्रहरीको खोजीमा छन्।

३ विष्णुबहादुर लामा

विष्णुबहादुर लामा पनि वैदेशिक रोजगारीको ठगीका कारणले नै प्रहरीको रेडकर्नर नोटिसमा छन्। उनी पनि करिब ९ वर्ष अघि विभिन्न व्यक्तिलाई विदेश पठाउने भन्दै करिब २ करोडभन्दा बढी पैसा असुलेर भागेका हुन्।

४ अंगवीर बोहोरा

३१ वर्षीय अंगवीर बोहोरा दार्चुला जिल्लाका बासिन्दा हुन्। ७ वर्षदेखि उनी प्रहरीको खोजीमा छन्। बोहोराले ६ वर्षीया बालिकालाई बलत्कार गरेर फरार भएका हुन् ।

५ रामकुमार यादव

३७ वर्षीय राम कुमार यादव हत्या गरेर फरार भएका 'अपराधी' हुन्। सिरहा घर भएका यादवले गंगाप्रसाद यादवको हत्या गरेको आरोप छ।

६ पशुपतिनाथ शुक्ला

पशुपतिनाथ शुक्ला ३ वर्षदेखि प्रहरीको रेडकर्नर नोटिसमा रहेका छन् । उनी व्यवसायी पनि हुन्। व्यवसायको क्रममा भारतीय व्यवसायी अरिफ अन्सारीलाई ३३ लाखको बाउन्स चेक दिएको कारण उनी प्रहरीको खोजी सुचीमा परेका हुन्।

७ रुद्र आर्चाय

३२ वर्षीय रुद्र आर्चाय अपहरण पछि हत्याको केसमा प्रहरीले  खोजी गरिरहेका अपराधी हुन्। चितवन रत्ननगर घर भएका आर्चायले चितवनकै कृष्णप्रसाद अधिकारीको अपहरण गरेका थिए। अपहरण गरेकै दिन उनको लाश रत्ननगर चोकमा भेटिएको थियो।

८ शाकिल हुसेन

सप्तरी जिल्ला घर भएका शाकिल हुसेन हत्या गरेर फरार भएका रेडकर्नर सूचीमा पर्ने 'अपराधी' हुन्।

९ ओकेन्द्र बहादुर सिह

करिब दुईवर्ष अघि हत्यामा संलग्न भएको विषयमा ओकेन्द्र बहादुर सिह रेडर्कनर नोटिसमा छन्। उनले शेरबहादुर रोकायको हत्या गरेको खुल्न आएको हो। ४६ वर्षिय उनी बाजुराका बासिन्दा हुन्।

१० पवन कुमार कार्की

काठमाडौं घर भएका ४३ वर्षीय पवन कुमार कार्की बैंकिङ कसुरका कारण प्रहरीको खोजी सुचीमा रहेका छन्। उनले करिब १ अर्बभन्दा बढी रुपैयाँ ठगी गरेको प्रहरीको दावी छ।

११ रामबहादुर तामाङ

नुवाकोटका रामबहादुर तामाङ वैदेशिक रोजगारीमा ठगी गरेको कारण खोजीमा छन्। उनी विभिन्न व्यक्तिलाई विदेश पठाइदिने भन्दै २ करोड १० लाखभन्दा बढी रकम लिएर फरार भएका छन् ।

१२ केशव दर्लामी मगर

३७ वर्षीय केशव दर्लामी मगर धनकुटाका हुन्। उनलाई प्रहरीले विभिन्न लुटपाट र ठगीको केसमा खोजी गरिरहेको छ।

१३ फकिर रियाज

४० वर्षीय फकिर रियाज प्रहरीको रेडकर्नर नोटीसमा सूचीकृत अर्का अभियुक्त हुन्। उनले सन् २००८ मा रुपन्देहीका तीर्थ बोहोराको हत्या गरेर फरार भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell