PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

​फ्रान्स सेमिफाइनलमा, आइसल्याण्ड ५–२ ले पराजित



पहिलोपोस्ट

​फ्रान्स सेमिफाइनलमा, आइसल्याण्ड ५–२ ले पराजित

अन्नत युरो २०१६ को सरप्राइजिङ टोली आइसल्याण्डको पहिलो युरोकप यात्रा सकिएको छ। जारी युरोकै सबैभन्दा धेरै गोल भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक फ्रान्सले आइसल्याण्डलाई ५–२ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। फ्रान्सले अब फाइनल प्रवेशका लागि विश्वविजेता जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रिक्वाटरफाइनलमा उपाधि दाबेदार इंग्ल्याण्डलाई पराजित गर्दै शनसनी मच्चाएको आइसल्याण्डले आयोजक फ्रान्सलाई भने स्तब्ध पार्न सकेन। 

स्टेड डे फ्रान्समा भएको खेलमा ओलिभर जिरुडको दुई गोल मद्धतमा फ्रान्सले आइसल्याण्ड विरुद्ध ५ गोल गर्यो। यसअघिका हरेक खेलमा गोल गर्दै आएका आइसल्याण्डले फ्रान्स विरुद्ध पनि गोल गर्न सक्यो। जुन उनीहरुको सकरात्मक पक्ष रह्यो।

एकपक्षिय जस्तै बनेको खेलको पहिलो हाफमै फ्रान्सले चार गोल गर्यो। १३ औं मिनेटमा मटुइडीको पासमा जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। 

२० औं मिनेटमा एन्टोनी ग्रिज्मनको कर्नरमा पउल पोग्वाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे। जारी युरोमा पोग्वाको यो पहिलो गोल हो।
यस्तै खेलको ४२ औं मिनेटमा दिमित्री पायटले फ्रान्सको लागि तेस्रो गोल गरे। पहिलो हाफको अन्त्यतिर ग्रिज्मनले गोल गरेपछि फ्रान्सले पहिलो हाफमै आइसल्याण्ड विरुद्ध ४–० को अग्रता बनायो।

चार गोल बेहोरेर पनि आइसल्याण्डले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो र ५६ औं मिनेटमा गोल फर्काउन सफल भयो। आइसल्याण्डका लागि कोल्वेइन सिथोसरसनले गोल गरे। तर त्यसको चार मिनेटपछि नै जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ५–१ को अग्रता दिलाए। 

खेलको ८४ औं मिनेटमा आइसल्याण्डले दोस्रो गोल गर्यो। बिरकिर बिजारसनले गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरेपनि हार टार्न पर्याप्त हुन सकेन र फ्रान्स ५–२ गोल अन्तरले विजयी भयो।

जितसँगै सेमिफाइनल पुगेको फ्रान्सले अब विश्व विजेता जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell