
एटलान्टा : यहाँ चलिरहेको एएनए (एशोसिएसन अफ द नेप्लिज इन द अमेरिकाज) सम्मेलनमा गरेको सांगीतिक प्रस्तुतिसँगै यो नेपथ्यले यस वर्षको अमेरिका भ्रमण सम्पन्न गरेको जनाएको छ।
एटलान्टा सहरको परिचित मञ्च ‘सेन्टर स्टेज’मा अमेरिका यात्राको दोस्रो कार्यक्रमका रुपमा नेपथ्य प्रस्तुत भएको थियो। यसअघि समूहले लस एन्जलसमा एक साताअघि नेपाली लोक रक सुनाएको थियो।
व्यवस्थित मञ्चमा उपलब्ध आधुनिक विद्युतीय प्रबन्ध प्रयोग गर्दै ब्याण्डले पहिलो गीतका रुपमा ‘भेडाको ऊनजस्तो’ सुनाएको थियो। त्यसपछि नेपथ्यका सर्वकालीक हिटहरु ‘छेक्यो छेक्यो’, ‘चरि मर्यो’ हुँदै ‘जोमसोमे बजारमा’ गाउनुअघि ब्याण्डका मुख्य गायक एवं टोली अगुवा अमृत गुरुङले लोकगीतका भाका खोज्दै नेपालका डाँडाकाँडा घुम्दाको रमाइलो अनुभव सुनाएका थिए ।
‘आफू नेपालको कुनाकाप्चा पुगेजस्तै तपाईंहरुलाई पनि स्वदेश त्यसैगरी घुम्ने सुझाव दिन्छु,’ उनले भने, ‘यदि यो अद्भुत आनन्द लिनुभएको छैन भने अर्कोपटक नेपाल आएको बेलामा अवश्य प्रयास गर्नुहोला।’
त्यसपछि उनले यस्तै घुमफिरमा भेटिएको अर्को रमाइलो ‘सालैजो’ भाकामा गीत सुनाए। ‘लाग्यो कुहिरो दिनभरि’ बोलको यो गीत अमृतले गुल्मी र बागलुङको यात्राका क्रममा संकलन गरेका हुन्।
कार्यक्रमको बीचमा अमृतले सधैंझैं मनमा लागेका कुरा बोल्न छुटाएनन्। ‘यस्तो समाजमा बस्न पाउनुभएका तपाईंहरु भाग्यमानी हुनुहुन्छ,’ उनले थपे, ‘यदि महिनाको एक रात महँगो भोजन त्याग्नुभयो भने तपाईंले आफ्नो गाउँका कुनै अशक्त बालकलाई राम्रो शिक्षाको अवसर दिलाउन सक्नुहुन्छ।’
त्यसपछि उनले अझै सार्वजनिक नभइसकेको नयाँ गीत प्रस्तुत गरे–
‘कोसीको पानी यो जिन्दगानी
सललल बगिजाने हाउ हजुर
आमाको कोखमा बास मात्र लिएँ नि
कुन देशको मरन हाउ हजुर...’

गीत अगाडि बढ्दै जाँदा कार्यक्रममा उपस्थित दर्शकहरु गम्भीर भएका देखिन्थे। यसरी एउटा अवस्थामा पुगेको हलमा जसै अमृतले ‘गाउँ गाउँबाट उठ’ गाउन सुरु गरे, हलभरिका दर्शकहरुको मनोदशा अचानक फेरिन पुगेको थियो। गीतको तरंगले सबैलाई उफार्न थालेको थियो।
‘नेपालीहरु स्वदेशभित्र मात्र होइन बाहिर पनि बेग्लाबेग्लै विचार र पहिचानका आधारमा विभाजित भएर बाँच्न थालेका छन्,’ उनले सोधे, ‘यसो गर्नुभन्दा त हामी सबै मिलेर एउटै आवाज निकाल्न सक्दैनौं?’
यो गीतसँगै तीव्र भएको दर्शकको चाल र धड्कनलाई अघि बढाउँदै नेपथ्यले त्यसपछि पनि उफार्ने गीतहरु ‘रेशम’ र ‘तालको पानी’ सुनाएको थियो।
कार्यक्रमको अन्त्य भने गोपालप्रसाद रिमालका शब्दलाई अम्बर गुरुङले संगीतबद्ध गरेपछि गुरुङ र फत्तेमानले गाएको ‘रातो र चन्द्रसूर्य’को चिरपरिचित नेपथ्य प्रस्तुतिबाट भएको थियो।

कार्यक्रममा अमृतलाई सधैंझैं ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुबिन र गितारमा निरजले साथ दिएका थिए।
टोली ६ तारिखका दिन स्वदेश फर्कनेछ।