PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

नेविसंघमा अध्यक्ष दाबी गर्नेको लस्कर, चर्चामा १६ जना



रमेश वाग्ले

नेविसंघमा अध्यक्ष दाबी गर्नेको लस्कर, चर्चामा १६ जना

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन लामो समयपछि हुन लागेसँगै संघ चलायमान हुन थालेको छ। महाधिवेशनको सरगर्मीले कार्यकर्ताहरु तात्न थालेका छन्। कांग्रेस उत्पादन गर्ने नर्सरी भएकैले हुन सक्छ, नेविसंघलाई कांग्रेस नेताहरुले पनि महत्वका साथ लिने गर्छन्।
 
महाधिवेशनका विषयमा कांग्रेसकै नेताहरुको स्वार्थ बाँझिदा २०६५ सालपछि संघको अधिवेशन हुन सकेको छैन। २०६५ सालको चितवन महाधिवेशनबाट निर्वाचित भएर कांग्रेस र कांग्रेस प्रजातान्त्रिक एक हुँदा पनि सभापति भएका प्रदीप पौडेलको राजीनामापछि ६ महिनाभित्र महाधिवेशन गरिसक्ने भनेर महाधिवेशन आयोजक समितिका रुपमा गठन भएको रञ्जित कर्ण नेतृत्वको कार्यसमिति २०६८ फागुनदेखि आजसम्म कायम छ।
 
नेतृत्वको निर्देशनपछि ६ महिनाभित्र महाधिवेशन गर्ने म्याण्डेट लिएर महाधिवेशन आयोजक समितिका रुपमा गठन भएको कर्ण कार्यसमितिले नेतृत्वको दबाबमा आगामी साउन २३ देखि २५ सम्म महाधिवेशन गर्नेगरी मिति घोषणा गरेको छ। लामै समयमा भए पनि अधिवेशनको घोषणा भएपछि नेविसंघ राजनीतिमा लागेकाहरु उत्साहित छन्। त्यो उत्साह यसरी देखिएको छ कि अध्यक्षका दाबेदारको संख्या यकिन गर्न पनि ध्यानपूर्वक गन्नुपर्ने अवस्था छ।
 
प्रदीप पौडेल कार्यसमितिले २०६७ सालमै महाधिवेशन गर्न पाएको भए संघका अहिले अध्यक्ष दाबी गर्नेहरु अर्कै हैसियतमा पुगिसक्थे। तर समयमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने संस्कार नबस्दा संगठनमा हैसियत बनाउन नसकेकादेखि हैसियत भएर पनि अवसर नपाउनेहरु एउटै पदका दाबेदारका रुपमा देखिएका छन्।
 
उनीहरुको परीक्षणको आधार महाधिवेशन नै एक मात्र हो। तर अझै पनि 'महाधिवेशन उद्घाटन हुन्छ, त्यसपछि 'इलेक्सन' होइन 'सेलेक्सन' नै हुनेछ'  भन्ने निराशावादी मनोविज्ञान पनि प्रत्यासीहरुमा देखिन्छ। केहीले भने सेलेक्सनमा नै आफ्नो भविष्य देखिरहेका छन्।
 
गुटको राजनीतिले जरा गाडेको कांग्रेसमा जस्तै नेतैपिच्छेका उम्मेद्वार छन्  नेविसंघमा पनि। त्यसैले हरेक गुटमा एकभन्दा बढी उम्मेद्वार छन्। प्रायजसो उम्मेद्वारले आफ्ना सम्पर्क कार्यालय स्थापना गरेका छन् भने केही उम्मेद्वार सम्पर्क कार्यालयबिना नै कामकारबाही चलाइरहेका छन्।
 

अहिलेसम्म अध्यक्षको दाबी गर्नेहरु

१. जितजंग बस्नेत
२. मनोजमणि आचार्य
३. नैनसिंह महर
४. कुन्दनराज काफ्ले
५. निलकण्ठ रिजाल
६. आनन्दराज त्रिपाठी
७. केदार कार्की
८. रामप्रसाद अधिकारी
९. शुभराम बस्नेत
१०. दीपक भट्टराई
११. सरोज थापा
१२. राजीव ढुंगाना
१३. रत्न कार्की
१४. क्षितिज भण्डारी
१५. अञ्जान लामा
१६. विनीता अधिकारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell