PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मनाङ्गे छुटाउन दलका नेताहरु सक्रिय, के प्रहरीले दलीय दबाब थेग्ला?



सविन ढकाल

मनाङ्गे छुटाउन दलका नेताहरु सक्रिय, के प्रहरीले दलीय दबाब थेग्ला?

काठमाडौं : चार दिनदेखि गुन्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङ्गे काठमाडौंको टेकुमा रहेको कारागारको चीसो भुइँमा रात काटिरहेका छन्। मनाङ्गे पक्राउ परेदेखि नै उनलाई छुटाउन राजनीतिक दलका नेताहरुको चलखेल सुरु भइसकेको छ।
 
विभिन्न व्यक्तिलाई धम्क्याएको र अवैध रुपमा रकम असुली गरेको विषयमा प्रहरीले उनलाई पक्रेको हो। 'मनाङ्गेलाई छुटाउन नेताहरुको फोन आइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए। तर उनले कुन दलका कुन नेताले फोन गरे खुलाउन चाहेनन्।

उनलाई छुटाउन दवाव दिने शैलीमा कतिले त मनाङ्गेको बारेमा बुझ्न र सोधखोज गर्नसमेत फोन गर्ने गरेको थापाले बताए। थापा भन्छन्, 'अब राजनीतिक दलको आडमा गुन्डा छोड्ने कुरालाई नेपाल प्रहरीले टेर्ने छैन। राजनीतिक दलको खोल ओडेर अपराध गर्ने दिन गए।'
 
मनाङ्गेलाई संगठित अपराध ऐनको अभियोग अन्तर्गत कारवाही सुरु गरेको छ। संगठित अपराध गरेको ठहरिएमा २ वर्ष अनुसन्धान र ६ वर्ष उनी कम्तिमा ८ वर्ष जेल बस्ने छन्। थापा भन्छन्, 'अब संगठित अपराध अन्तर्गत कारबाही सम्भव भए डनको लागि प्रहरीको गोली भन्डा डरलाग्दो यो ऐन हुनेछ।

गुन्डागर्दी र राजनीति साथै

दुई दशक गुन्डागर्दीमा समय बिताएका मनाङ्गेको राजनीतिक इतिहास पनि लामै छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उनको राजनीतिक करिअर सुरु भएको देखिन्छ। त्यसपछि नेपाली कांग्रेस हुँदै उनी संघीय लोकतात्रिक राष्ट्रिय पार्टीको उपाध्यक्ष समेत बने।

राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसी अहिले संसदीय व्यवस्था नै डन र गुन्डागर्दीबाट चलेको बताउँछन्। केसी भन्छन्, 'मनी र मसल्स नै आवश्यकता बनेको छ राजनीतिको। नेताहरु आफ्नो राजनीतिक स्वार्थका लागि यस्ता गुन्डाको संरक्षणमा लागेका हुन्छन्।'

मनाङ्गे पक्राउ पर्दा मात्र होइन अरु यस्ता गुन्डा पक्राउ पर्दा पनि राजनीतिक दलको दवावमा छुट्दै आएका छन्। प्रहरीको कारबाहीमा मारिँदा चर्को राजनीतिक मुद्दा समेत बनेका छन् गुन्डाहरु।

केही समयअघि चरी भनिने दिनेश अधिकारी र कुमार घैटेलाई प्रहरीले 'इन्काउन्टर' गर्दा संसदमा नै चर्को बहस बन्यो। चरी मारिँदा धादिङका एमाले नेता राजेन्द्र पाण्डे लगायतका नेताले संसदमा चर्का कुरा गरे भने कुमार घैटे मारिदा नेपाली कांग्रेसका अर्जुननरसिंहदेखि गगन थापासम्मका नेताहरु मानव अधिकार आयोगसम्म धाउन भ्याएका थिए।

राजनीतिमा अपराधलाई संरक्षण गर्ने दलहरुकै कारण प्रहरीका कतिपय कारवाही विवादको घेरामा पर्दै आएको छ। यसपाला मनाङ्गेमाथि दलहरुको दवावको शक्ति र प्रहरीको त्यो दवाव थेग्ने क्षमताको परीक्षण हुनेछ। हेरौं परीक्षणमा को खरो उत्रिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell