PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

यी हुन्, गोल्डेन बुटको होडमा अगाडि रहेका ६ खेलाडी



पहिलोपोस्ट

यी हुन्, गोल्डेन बुटको होडमा अगाडि रहेका ६ खेलाडी

फ्रान्समा जारी युरो २०१६ मा अब ३ खेल मात्र बाँकी छन्। २४ टोलीको सहभागिता रहेको प्रतियोगितामा २० टोली बाहिरिइसकेका छन् भने उपाधि होडमा ४ टोली बाँकी छन्।
 
सहभागी टोलीहरुमा च्याम्पियन बन्ने होडजस्तै खेलाडीहरुमा पनि उत्कृष्ट बन्ने र सर्वाधिक गोल गर्ने होड चल्छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले गोल्डेन बल र सर्वाधिक गोल गर्नेले गोल्डेन बुट अवार्ड पाउनेछन्।
 
क्वाटरफाइनल चरणका खेलहरु सकिदाँसम्म फ्रान्सका ३ खेलाडी गोल्डेन बुटको होडमा अगाडि रहेका छन्। आइसल्याण्डलाई क्वाटरफाइनलमा ५–२ ले हराउने क्रममा फ्रान्सका ४ खेलाडीले गोल गरेका थिए, जसमध्ये ३ खेलाडी यस अवार्डको दाबेदारीमा अगाडि आएका छन्।
 

युरो २०१६ मा गोल्डेन बुट दाबेदारमा अगाडि रहेका ६ खेलाडी


१. एन्टोनी गिज्मन, फ्रान्स


गोल्डेन बुटको होडमा सबैभन्दा अगाडि छन्, एन्टोनी ग्रिज्मन। उनले अहिलेसम्म सर्वाधिक ४ गोल गरिसकेका छन्।
 
समूह चरणमा एक मात्र गोल गरेका ग्रिज्मनले नकआउट चरणको दुवै खेलमा गोल गरे। प्रिक्वाटरफाइनलमा आयरल्याण्डलाई २–१ ले हराउँदा दुवै गोल गरेका उनले क्वाटरफाइनलमा आइसल्याण्डविरुद्ध एक गोल गरेका थिए। समूह चरणअन्तर्गत अल्वानिया विरुद्धको खेलमा पनि ग्रिज्मनले गोल गरेका थिए। ग्रिज्मनले २ असिस्ट समेत गरेका छन्।
 

२. ओलिभर जिरुड, फ्रान्स


गोल्डेन बुटको दाबेदारमा अगाडि रहेका अर्का फ्रेन्च खेलाडी हुन्, जिरुड। उनले ३ गोल गरेका छन्। उद्घाटन खेलमै रोमानियाविरुद्ध फ्रान्सका लागि गोलको खाता खोलेका जिरुडले त्यसपछि लगातार ३ खेलसम्म गोल गर्न सकेका थिएनन् । तर आइसल्याण्ड विरुद्धको क्वाटरफाइनलमा २ गोल गर्दै उनले गोल्डेन बुटको दाबेदारीमा आफूलाई अगाडि ल्याए। यस्तै उनले २ गोलका लागि सहयोग पनि गरेका छन्।

 
३. दिमित्री पायट, फ्रान्स


युरो सुरु हुनुअघि पायटलाई कमैले चिन्थे। तर उनै पायट फ्रान्सका लागि नयाँ नायक बनेर उदाए। फ्रान्सलाई संकट परेको बेला उद्धार गर्दै आएका पायटले अहिलेसम्म जिरुडसमान ३ गोल गरेका छन्। समूह चरणको २ खेलमा १/१ गोल गरेका पायटले क्वाटरफाइनलमा आइसल्याण्डविरुद्ध पनि १ गोल गरे। पायटले पनि २ गोलका लागि सहयोग गरिसकेका छन्।

 
४. गारेथ बेल, वेल्स


समूह चरणको तीन वटै खेलमा गोल गर्ने एक्ला खेलाडी हुन गारेथ बेल।
 
त्यसपछि बेलले नकआउट चरणमा गोल गर्न सकेका छैनन् तर वेल्सको सेमिफाइनलसम्मको यात्रामा प्रेरणादायी प्रदर्शन गरिरहेका छन्। बेलले समूह चरणमा स्लोभाकिया, इंग्ल्याण्ड र रसियाविरुद्ध गोल गरेका थिए। ३ गोल गरेका बेलले १ गोलका लागि सहयोग समेत गरेका छन्।

 
५.क्रिस्टियानो रोनाल्डो, पोर्चुगल


समूह चरणका सुरुवाती २ खेलमा गोल गर्न नसकेको भन्दै आलोचित बनेका रोनाल्डोले समूह चरणको चरणको अन्तिम खेलमा हंगेरीविरुद्ध २ गोल गरेका थिए। रोनाल्डोकै २ गोल मद्दतमा हंगेरीलाई ३–३ को बराबरीमा रोक्दै पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको थियो। २ गोल गरेका रोनाल्डोले २ गोलका लागि नै सहयोग गरेका छन्।

 
६. नानी, पोर्चुगल


पोर्चुगलका नानीले पनि रोनाल्डो समान २ गोल नै गरेका छन् भने १ गोलका लागि सहयोग गरेका छन्। नानीले समूह चरणमा आइसल्याण्ड र हंगेरी विरुद्ध १/१ गोल गरेका थिए।

 
र यी पनि,

युरोबाट बाहिरिसकेको स्पेनका अल्भारो मोराटाले पनि ३ गोल गरेका थिए। तर फ्रान्सका ग्रिज्मनले ४ गोल गरिसकेका कारण उनले गोल्डेन बुट जित्ने सम्भावना सकिसकेको छ।
 
सेमिफाइनलमा पुगेको जर्मनीका मारियो गोमेजले पनि २ गोल गरेका छन्। तर चोटका कारण बाँकी खेल खेल्न नसक्ने भएपछि गोमेट युरोकपबाट आउट भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell